सर्लाहीमा जलाउन ठिक्क परेकाे शवसहित तीनजना पक्राउ
सर्लाही, ११ असाेज । सर्लाहीमा जलाउन ठिक्क परेकाे शवसहित तीनजना पक्राउ परेका छन् ।
सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले मलामीसहितका टाेलीले जलाउन लागेकाे चिताबाटै नियन्त्रणमा लिएको हाे ।
बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारका अनुसार घाटबाटै युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।
घटना शंकास्पद देखिएपछि पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताउनुभयाे ।