भारती मानन्धर बसे माइतीघरमा अनशन, रिगललाई पुन: जेलमै पठाउनुपर्ने

काठमाडाै, १७ असाेज । भारती मानन्धरले माइतीघरमा अनशन सुरू गरेकी छन्।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका बाँकेका योगराज ढकाल (रिगल)लाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि त्यसकाे बिराेधमा माइतीघरमा अनशन सुरू गरेकी हुन् ।

भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलमा अनशन सुरू गरेकी छन् । श्रीमानको हत्या गर्नेलाई पुन: जेलमा पठाउनुपर्ने उनकाे माग छ । ‘हत्यारालाई फेरि जेल चलान गर्नुपर्छ,’ उनले भनिन्, बीचमै हत्यारालाई आममाफी दिँदा यस्ता हत्यारा अरू पनि जन्मिन्छन्। राजनीतिक शक्ति दुरूपयोग गर्दै हत्याराहरू अघि बढ्न सक्छन्,’ उनले भनिन्।

भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो। रिगलकाे जेलमा असल चालचलन रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपती पौडेलले आममाफी दिएका थिए ।