भारतकाे सिक्किममा बाढीले २३ सैनिक बेपत्ता

एजेन्सी, १७ असाेज । भारतकाे उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ ।

“उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा टिस्टा नदीमा बाढी आउँदा २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको भारतीय सेनाले जनाएकाे छ । उनीहरूकाे खोजी कार्य जारी रहेकाे पनि सेनाले बताएकाे छ ।

उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ । साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजङ्घालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ ।

चुङथाङ्ग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको सेनाले बताएको छ ।

भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ ।

सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो ।