‘कालो अक्षर, रातो अक्षर’ नाटक शैक्षिक विकृतिमाथिको क्षेप्यास्त्र

काठमाडौं, २२ असोज । करीब डेढ महिना अघि नेकपा (एमाले) मुख्यालयको गोलघरमा पूर्वविद्यार्थी नेतृ एवं एमाले केन्द्रीय सदस्य रचना खड्कासँग चियाको सुर्कीसँगै म कुराकानीमा व्यस्त थिएँ । त्यहिबेला दिलिप खड्का टुप्लुक्क आइपुग्नुभयो । दिलिप पूर्व विद्यार्थी नेतृ रचनासँग विद्यार्थी आन्दोलनसँग जोडिएको विषयवस्तुमा आधारित नाटक निर्माण गर्ने तयारीमा रहेको र त्यहिबारे सुझाव लिने उदेश्यले आउनु भएको रहेछ । दिलिपसँग त्यो नै मेरो पहिलो भेट थियो ।

करीब १ घण्टा जति हामी तीन जनाबिच त्यहाँ कुराकानी हुँदा कुनै समय विद्यार्थी आन्दोलनमा नजिकबाटै जोडिएको मलाइ त्यतिबेलाको विद्यार्थी आन्दोलनबारे नोस्टाल्जिया बनाएको थियो । दिलिपले विद्यार्थी आन्दोलन र त्यससँग जोडिएको विषयवस्तुमा आधारित नाटक बनाउने कुराकानी रचनासँग गर्दैगर्दा नाटकको मर्म र भावनालाई मात्रै होइन समग्र विद्यार्थी आन्दोलनलाई समेत न्याय गर्ने खालको नाटक बन्ला त भन्ने जिज्ञासाहरु त्यतिबेला नै मेरो मानसपटलमा उथलपुथल भएका थिए ।

केही दिन अघि फेरि विद्यार्थी नेता आर. के. रोमसले ‘कालो अक्षर, रातो अक्षर’ नाटक असोज १७ गतेदेखि असोज २७ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा देखाउने तयारी भएको र त्यसैको पत्रकार सम्मेलन तय गरेको भन्दै निम्ता गर्नुभयो । पत्रकार सम्मेलनमा जान चाहेर पनि समय मिलाउन सकिरहेको थिइन । उद्घाटनका दिन पनि मलाई निम्तो आएको थियो । त्यो दिन पनि म समय अभावका कारण उपस्थित हुन सकिन ।

फेरि दुई दिन अघि अनेरास्ववियुका अध्यक्ष समिक बडाल आफैँले नाटक हेर्ने निम्तो गरेपछि म शनिबार साँझ बत्तिसपुतलीस्थित गोठाले नाटकघर पुगेँ । त्यहाँ नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतलाई पनि निम्ता गरिएको रहेछ । यस अघि पनि दजनौं नाटक हेरेको मलाई केही नाटकहरु हेरिसकेपछि निकै निरस लागेको अनुभव छ । नाटकमा मुख्य गरेर नाटकका तत्वहरु जस्तै कथावस्तु, चरित्र चित्रण, संवाद, परिवेश, भाषाशैली, द्वन्द्व, अभिनय रङ्ग शिल्प र उद्देश्यले नाटकलाई जीवन्त बनाउन अपरिहार्य भूमिका खेलेका हुन्छन् ।

यी तत्वहरुलाई परिकल्पनाकारले परिकल्पना गर्न सकेनन्, लेखकले लेख्न सकेनन् र निर्देशकले निर्देशकीय भूमिका खेल्न सकेनन् भने कमजोर बनिदिन्छन् । अझ पछिल्लो समय राजनीति र अझ त्यसमा पनि विद्यार्थी आन्दोलनप्रति विभिन्न खाले आरोप लागिरहेका बेला अनेरास्ववियुकै प्रस्तुतिको नाटकले नाटकको गरिमालाई बोक्न नसक्ने खालको पो भनेको छ कि भन्ने खुलदुली पनि बढिरहेको थियो ।

यी र यस्तै खुलदुलीहरु खेलाउँदै नाटकघर भित्र छिरियो । अघिल्लो लहरमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्य रमेश पौडेल, युव नेता प्रभातविक्रम कटुवाललगायत हुनुहुन्थ्यो अनि ठ्याक्कै पछिल्लो लहरमा छोरो र श्रीमतीसहित म नाटकका हरेक कथावस्तु, चरित्र चित्रण, संवाद, परिवेश, भाषाशैली, द्वन्द्व, अभिनय रङ्ग शिल्प र उद्देश्यलाई नियाल्न व्यस्त बने ।

विश्वविद्यालयका कक्षाहरुमा नाटकबारे केही अध्ययन गरेको मलाई नाटकको नायक धीरोदात्त, धीरललित र धीरप्रशान्त हुनुपर्छ । त्यस्तो नायकले मात्रै नाटकलाई प्राण दिनसक्छ भन्ने पढेको थिए । त्यसैले म प्राय नाटक हेर्दा धीरोदात्त, धीरललित र धीरप्रशान्त नायक खोज्छु ।

म शिल्पी थियटर, गोठाले नाटकघरमा मञ्चन भैरहेको ‘कालो अक्षर, रातो अक्षर’ नाटक हेर्ने दर्शकका रुपमा मात्रै नभई नाटक हेरेपछि केही लेख्छु भन्ने योजना अनुसार नै पुगेको थिएँ । त्यसैले मैले त्यहाँ नाटक मात्रै हेरिन । मेरो क्षमताले भ्यायसम्म नाटकबारे सूक्ष्म अध्ययन समेत गर्ने मनस्थितिमै थिएँ ।

जब रंगमञ्चको पहिलो दृष्यमै केही युवाहरु ‘अहिलेको मुख्य समस्या भनेको शिक्षाको वर्गीकरण हो । यो जञ्जिर नतोडुन्जेल कही हुन्न’ भन्दै कसिलो मुठ्ठी कसेर देखा परे मलाई त्यो पहिलो दृष्यले नै तानिहाल्यो ।

पछिल्लो समय निर्धाे बनेको विद्यार्थी आन्दोलन र शैक्षिक माफियाहरुको चंगुलमा फसिरहेको नेपालको नीजि शिक्षाका कारण सरकारी शिक्षा ओझेल मात्रै परेको छैन । यसले शिक्षामा निकै ठूलो खाडल सिर्जना गरिदिएको छ । हो, यहि तथ्यलाई घन प्रहार गर्ने नाटकका नायक संगितको ‘शिक्षाको वर्गीकरणको जञ्जिर तोड्नुपर्छ’ भन्ने क्रान्तिकारी शब्दले नै संगित नाटकका सफल नायक भन्ने देखाइदियो । पहिलो दृष्यले नै मेरा धेरै खुलदुलीहरुलाई हटाई दियो र म निकै ढुक्क भएर नाटक हेर्न थाले ।
समान शिक्षाका लागि आन्दोलनको पूर्व सन्ध्यामा रहेका संगित र अंकिता मात्रै होइन रंगमञ्चको पहिलो दृष्यमै देखिएका सकारात्मक तर ठट्यौली पाराको भूमिकामा देखिएका राजको अभिव्यक्ति निकै बेजोड देखियो । ‘आन्दोलन भन्यो ढुंगामुढा गर्यो, रेलिङ भाँच्यो’ भन्दै पुरानो शैलीका आन्दोलनप्रति केही कटाक्ष गर्दै राजले मायापिरतीका कुरा गरौँ भन्दै बोलेको संवादले धेरै कुराको अर्थ बोकेको प्रष्ट देखिन्थ्यो ।

आन्दोलन र मायापिरती मात्रै होइन ‘कालो अक्षर, रातो अक्षर’मार्फत आन्दोलबाटै मिडियाले रातारात बनाइ दिएका सेलिब्रेटीहरुको कथालाई पनि कुशल ढंगले उधिन्ने प्रयास नाटकमा गरिएको छ । आन्दोलनबारे थोरै जानकारी भएकी सजना पात्रमार्फत मिडियाले कसरी सेलिब्रेटी बनाइ दिए भन्ने जीवन्न सन्देश देखाउन खोजिएको छ । मुख्य नायक–नायक संगित र नायिका अंकिताले आन्दोलनबारे योजना बनाउँदै गर्दा मिडियामा अन्तर्वार्ता दिन भ्याइ–नभ्याई हुने सजनाले पछिल्लो समय छिट्टै चर्चामा आउने र सेलिब्रेटी बन्ने अवस्थालाई उजागर गर्ने प्रयास गरेको छ ।

दोस्रो दृष्यमा झुल्के घामसँगै युवाहरु क्रान्तिकारी गीत गाउँदै रङ्गमञ्चमा देखिन्छन् । संगित र अंकिताले त्यो दृष्यमा ‘विद्यार्थीको मूल्याङ्कन उसले आर्जेको ज्ञानको भन्दा पनि उसको प्रमाणपत्रमा भएको विद्यालयको नामको आधारमा गरिन्छ’ भन्दै शिक्षाको वर्गीकरबारे केही प्रवचन दिन्छन् ।

उनीहरु त्यमिमा मात्रै रोकिदैनन् ‘मजदुरका छोराछोरीलाई फेरि पनि मजदुर नै बनाइ रहन बाध्य पार्ने शिक्षाबारे सोच्ने बेला आएको छ, साथीहरु’ भन्दै आन्दोलनकारीहरुमा अदम्य आँट र उर्जा भरिदिँदै कुसल नायक–नायिकाको भूमिकामा देखा पर्छन् ।

हजुर बाहरु राणा शासनका विरुद्ध लडेको, आमा–बाहरु पञ्चायतका विरुद्ध लडेको अनि अहिलेको पुस्ता लोकतन्त्र र गणतन्त्रका लागि लडेको स्मरण गराउँदै संविधान बनेपछि यो विभेद हट्छ, असमानता मेटिन्छ भनेर विश्वास गरेर पर्खिदाँ पनि प्राप्त नभएको भन्ने उनीहरुको अभिव्यक्तिमा अहिलेको समग्र समस्या घुमेको अनुभूति हुन्छ ।
गणतन्त्र आएपछि अब त समाजवाद भेटियो कर्णाली र काठमाडौंको अनि सरकारी र नीजि विद्यालयको शिक्षाको विभेदको खाडल हट्छ भन्ने आशाको दियो निभेकोमा संगित र अंकिताको मुहारमा परिवर्तनको ज्वाला दन्किएको देखिन्छ । गणतन्त्रपछि नेता, मन्त्री, सांसद, मजदुर र किसानका छोराछोरीले एकै किसिमको शिक्षा पाउने आशाहरुमा लागेको बादल हटाउँने अदम्य आँट पनि संगित र अंकितामा देखिन्छ ।

हो, बहुदल, लोकतन्त्र र गणतन्त्रसँगै मान्छे बदलियो, तन्त्र बदलियो, मन्त्री बदलिए र व्यवस्था बदलियो तर अवस्था बदलिएन । यो नबदलिएको अवस्थाप्रति पनि कालो अक्षर, रातो अक्षरको कथाबस्तु, प्रस्तुति र चरित्र चित्रणले बेजोडसँग उठाएको छ ।


जनताका छोरा–छोरीमाथि असमानताका खाडलहरु गहिरो बनाउँदै माक्र्सवाद, समाजवाद, माओवादका नारा घन्काउने नेताहरुका विरुद्ध फिलिङ्गो बनेको नाटकले थाक्ने र भाग्नेहरुको इतिहास नलेखिने भन्दै आशाको दियो बोकेर हिड्नुपर्छ प्रेरणा दिने प्रयास गरेको छ । कालो अक्षर, रातो अक्षर नाटक मात्रै होइन शैक्षिक माफियाहरुको माफियातन्त्रमाथि मिसाइल बनेर प्रहार भएको छ ।

शैक्षिक माफियाहरुका पक्षमा लागेर पूँजिवादी राष्ट्रका सामू हाम्रो देशका नागरिकलाई श्रमिकका रुपमा चिनाउँन राज्य नै लागि परेको र त्यसका विरुद्ध अझै आक्रमक हुन जरुरी छ भन्ने सन्देशसहित नाटकले माफियातन्त्रका विरुद्ध विगूल फुक्ने प्रयत्न गरेको छ । आन्दोलनमा भेटिएका आशिष र विद्रोही अंकिताको प्रेमलाई पनि नाटकमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । आन्दोलनको अग्रमोर्चामा उँभिने अंकितालाई छेक्दा घाइते भएका आशिषले अंकितालाई आन्दोलनको अग्रमोर्चामा नआउन गरेको आग्रह अनि अंकिताले बरु आशिषलाई आन्दोलनमा नआउन भन्दै सम्झाएको दृष्यले अंकिताको आन्दोलनप्रतिको समर्पणलाई गहिरोसँग प्रस्तुत गरेको छ ।

खराव परिस्थितिलाई बदलेर आँउदो पुस्ताको मुहारमा खुशी ल्याउनका खातिर दाइजोप्रथाले जगडिएको अनि केटीलाई बिबाहका लागि मात्रै तयार पारिने गाउँबाट आएकी क्रान्तिकारी युवा अंकिताका हरेक शब्द र प्रस्तुतिले नाटकलाई जीवन्त मात्रै होइन बलियो बनाइ दिएको छ । नाटकमा परिवर्तनको फिलिङ्गो बोकेर हिँडेका संगित र अंकिता मात्रै होइन शैक्षिक माफियाले राज्य संयन्त्र र नेताहरुलाई कतिसम्म प्रभावित बनाउन सक्छन् भन्ने तथ्यलाई समेत नाटकका माध्ययमबाट उजागर गर्ने प्रयत्न गरिएको छ ।
विद्यार्थीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाए झैँपनि गर्ने अनि शैक्षिक माफियाहरुसँग साँठगाँठ गर्ने नेता, शैक्षिक माफिया र नेताबिच तालमेल मिलाउने पशुपतिजी पात्रमार्फत शिक्षा क्षेत्रमा देखिएको विकृति र नेताको मिलेमतोलाई पनि मार्मिक ढंगले नाटकमा उतार्ने प्रयास गरेको देखिन्छ ।

आन्दोलन निस्तेज बनाउन आन्दोलनमै होमिएका क्रान्तिकारी शिशिरलाई नेताले पद र पैसाको प्रलोभवनमा निर्धो बनाएको दृष्यहरुले धेरै क्रान्तिकारी युवाहरुको क्रान्तिप्रतिको चेतमा गराइदिएको अवसानलाई प्रतिनिधित्व गरेको देखाउँछ । परिवर्तनको आन्दोलनमा युवाहरुलाई ओसार्ने विमल पात्रमार्फत पैसा र जागिरको प्रलोभवनमा कसरी क्रान्तिकारी युवा स्खलित हुन्छन् भन्ने सन्देश दिन खोजिएको छ । आन्दोलनको अग्रमोर्चामा देखिने शिशिर र विमलहरु पैसाको प्रलोभवनमा परेपछि नेताहरुसँगै लागेको र आन्दोलनको भाष्य नै बदल्ने यत्न गरेको तथ्यहरुलाई पनि नाटकमार्फत देखाउने प्रयास गरिएको देखिन्छ ।

परिवर्तनको आन्दोलनप्रति प्रतिवद्ध भए पनि मुठभेडमा अलिक कायर जस्तो देखिने राज पात्रले परिवर्तनको आन्दोलमा उत्तोलकको भूमिका खेलेको देखिन्छ । समाजवाद आएर राज्यसत्ता जनताको पहुँचमा अनाउन्जेल आन्दोलन रोकिन्न भन्ने अठोटमा रहेका संगित र अंकितालाई अन्तिमसम्म साथ दिने राज र सजनामार्फत केही सन्देश दिएको छ ।
नाटकमार्फत कुनै समय विद्यार्थी आन्दोलनको अग्रमोर्चामा रहेका परिवर्तनका लागि लडिरहेका युवाहरु नै अहिले शिक्षाको नीजिकरणमा लागेको र अहिले तिनीहरुको विरुद्धमा लड्नु परेको तितो यथार्थ पनि नाटकमा उजागर गरिएको छ ।

आन्दोलनका नाममा फाइदा उठाउने चरित्रका बारेमा पनि नाटकका माध्ययबाट प्रस्तुत गरिएको छ । आउँदो पुस्ताले समान शिक्षा पाउन सकोस् भन्ने असल स्वार्थ बोकेर युद्ध लडिरहेका संगित र अंकिताले नाटकलाई उचाइमा पुर्याउन सक्दो प्रयास गरेका छन् । तरकारीको भाउ बढिरहेको अनि विश्वासको भाउ घटिरहेको अवस्थालाई पनि नाटकमा प्रस्तुत गरिएको छ ।

शिक्षा, स्वास्थ्य, जातिय विभेद आदिका बारेमा समेत केही उठान गरिएको नाटकमा निर्देशक दिलिपले चिया बेच्ने आमा पात्र मार्फत सन्तानको शिक्षाका लागि उमेर जति सबै चियामा उमालेर सक्ने हजारौँ आमाहरुको कथालाई उन्ने प्रयास गरेका छन् ।

रङ्गमञ्चको पृष्ठभूमिमा मधुर स्वरमा बजिरहेको गित ‘खोलाको पानी यो जीन्दगानी’ जस्तै सन्तानको शिक्षाका लागि हड्डी बुढो बनाएपछि शिक्षा र रोजगारीका लागि विदेशिन बाध्य युवाहरुको कथालाई पनि निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

आफ्नो प्रेमिलाई विदेश पठाउँदा पनि परिवर्तनको आन्दोलनमा नथाकेकी अंकिता, धीरोदात्त संगित अनि आन्दोलनका सहयात्री राज, सजनाहरु आन्दोलनमै होमिएका बेला प्रहरीको दमन हुन्छ र संगितको मृत्यु हुन्छ । तर, संगितको मृत्युले पनि आन्दोलन रोकिन्न । बरु हिजोको पुस्ताले बगाएको बलिदानको मूल्यका खातिर र भोलि आउने पुस्ताको खातिर आन्दोलनलाई थप बलियो बनाउँने प्रणसहित अंकिताहरु राज्यशत्ताको पहुच शैक्षिक माफियाहरुसँग रहुन्जेल आन्दोलन जारी राख्ने अठोटका साथ अघि बढ्छन् ।

अन्त्यमा
हजारौ युवाहरु रोजगारी र शिक्षाका लागि विदेश जान अहिले पनि किन बाध्य छन् ? निम्न वर्गका विद्यार्थीहरु पढ्ने विद्यालय र विश्वविद्यालयहरु शैक्षिक माफियाका कारण निर्धो किन बनेका छन् ? आफ्नो जायजेथा बेचेर पढ्नुपर्ने बाध्यता अहिले पनि किन जिवित छन् ? यी र यस्तै विषयलाई मूल आधार बनाएर बनेको नाटक ‘कालो अक्षर, सेतो अक्षर’ विद्यार्थी आन्दोलनका लागि कोशेढुंगा बनेको छ । नाटकका परिकल्पनाकार बडाल अनेरास्ववियुका अध्यक्ष हुन् । आफू अध्यक्ष रहेकै बेला र विद्यार्थी आन्दोलनप्रति नै विभिन्न आरोप उठिरहेका बेला उनले निकै ठूलो चुनौति मोलेर यो नाटक देखाउने अदम्य आँट गरेका छन् ।

यो आफैँमा परिवर्तनको एउटा झिल्को हो । लेखक आर. के. रोमस र निर्देशक दिलिप खड्काले पनि नाटकमा सक्दो प्रयास गरेका छन् । पात्रहरु अनुप न्यौपाने, अजयल लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, संगिता थापा, सन्जिव राई, सुजैन सिलवाल, सुदिप खतिवडा, शान्ता राईको अभिनयले समग्रमा नाटकमाथि न्याय गरेको छ ।