सगरमाथाको अस्तित्व जोगाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक : राष्ट्रपति पौडेल
काठमाडौँ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण र हिमाली वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा आइतबार (१३ जेठ) राजधानीमा आयोजना गरिएको ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमाल जोगाउन विश्वव्यापी सहकार्यको आवश्यकता औँल्याएका हुन्।
“सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र होइन, यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो,” राष्ट्रपति पौडेलले भने, “यसको संरक्षण, संवर्द्धन र सन्तुलित उपयोगमार्फत नेपालको पर्यटन क्षेत्र र अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ।”
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि (ग्लोबल वार्मिङ), जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा थुप्रिँदै गएको फोहोर व्यवस्थापन अहिले मुख्य चुनौती बनेको बताए। यी समस्याको समाधान गर्दै सगरमाथा क्षेत्रको पर्यावरण र जैविक विविधता जोगाउन पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए।
हिमाल र हिमाली पर्यावरणको संरक्षणका लागि सचेतना जगाउन यस सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रपतिको विश्वास छ। “आरोहणका क्रमका भोगाइ र अनुभवबाट प्राप्त ज्ञानका आधारमा सगरमाथालाई यसको प्राकृतिक स्वरूपमै जीवन्त राख्न यस सम्मेलनले विशेष ध्यान दिने मैले विश्वास लिएको छु,” उनले भने। सगरमाथासहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल गर्न विश्वभरका आरोहीहरू एकैठाउँमा भेला हुनु आफैँमा महत्त्वपूर्ण भएको उनले बताए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको समग्र पर्यटन प्रवर्द्धनमा यो सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे। उनले पनि जलवायु परिवर्तनको प्रत्यक्ष र गम्भीर असर सगरमाथालगायत नेपालका अन्य हिमालहरूमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए।