बीपी क्यान्सर अस्पतालमा औषधिको चरम अभाव: केमोथेरापी रोकिने अवस्थामा, बिरामीको ज्यान जोखिममा

चितवन, १३ जेठ । नेपालकै ठूलो क्यान्सर उपचार केन्द्र, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर विरुद्धको औषधिको चरम अभाव देखिएको छ। विश्वव्यापी रूपमा आपूर्ति प्रणाली प्रभावित भएपछि अस्पतालमा केमोथेरापीका लागि अनिवार्य मानिने मुख्य औषधिहरू सकिएका हुन्।

अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार हाल विशेषतः कार्बोप्लाटिन (Carboplatin) र सिसप्लाटिन (Cisplatin) नामक औषधिको अभाव छ। यी औषधिहरू क्यान्सरको केमोथेरापी योजनाका मुख्य आधार हुन्। औषधि अभावका कारण दैनिक झण्डै २०० बिरामीको उपचार प्रभावित भएको छ।

“यी औषधिबिना केमोथेरापीको ‘रेजिम’ पूरा हुँदैन, जसले गर्दा उपचारको प्रभावकारिता घट्छ,” डा. साहले भन्नुभयो। अस्पतालमा औषधि नभएपछि कतिपय बिरामीले भन्सार छलेर ल्याइएका वा औषधि व्यवस्था विभागमा दर्ता नभएका कमसल औषधि बाहिरबाट किनेर ल्याउने गरेका छन्।

डा. साहका अनुसार क्यान्सरका औषधि २५ डिग्री सेल्सियसभन्दा मुनिको तापक्रममा राख्नुपर्छ। तर, चर्को गर्मीमा झोलामा बोकेर ल्याइने यस्ता औषधिको प्रभावकारिता शून्य हुने र यसले बिरामीको स्वास्थ्यमा उल्टै गम्भीर असर पुर्‍याउने जोखिम रहन्छ।

अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलले यी औषधिको आपूर्ति ६ महिनाअघि नै बन्द भएको जानकारी दिनुभयो। “सिसप्लाटिन तीन महिनाअघि नै सकिएको थियो भने कार्बोप्लाटिन जेठ २ गतेसम्मका लागि मात्र स्टकमा थियो, अहिले त्यो पनि शून्य छ,” उहाँले भन्नुभयो। उत्पादक कम्पनीहरूले कच्चा पदार्थको अभाव देखाउँदै उत्पादन रोकेका कारण यो सङ्कट आएको हो।

मन्त्रालय र डब्लुएचओलाई गुहार
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले औषधि अभावबारे स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई पत्राचार गरिसकिएको बताउनुभयो। मन्त्रालयको विभागमा बालबालिकाका लागि निःशुल्क प्रयोग गर्न राखिएको केही मौज्दात औषधि रहेको र त्यसको म्याद सन् २०२६ को सेप्टेम्बरसम्म मात्र भएकाले, उक्त औषधि वयस्क बिरामीलाई पनि प्रयोग गर्न दिन अस्पतालले अनुमति मागेको छ। विभागले अनुमति दिएमा केही समयका लागि सङ्कट टर्ने देखिन्छ।

बाहिरका पसलको ‘सिन्डिकेट’
अस्पतालमा औषधि अभाव भएको मौका छोपी बाहिरका निजी औषधि पसलहरूले बिरामीमाथि शोषण गरिरहेको गुनासो पनि बढेको छ। अभाव भएका औषधि दिनका लागि अन्य सबै औषधि पनि आफ्नै पसलबाट किन्नुपर्ने ‘सर्त’ राखेर बिरामीलाई आर्थिक भार थपिएको डा. साहले बताउनुभयो।

नेपाल सरकार र औषधि व्यवस्था विभागले औषधिको अवैध ओसारपसार र बजारको बेथिति नियन्त्रणमा तत्काल कदम नचाले क्यान्सर निको हुने दरमा उल्लेख्य ह्रास आउने चिकित्सकहरूको चेतावनी छ।