पाल्पा जिप दुर्घटना अपडेट : मृतक ६ जनाको पहिचान खुल्यो
पाल्पा, ५ कात्तिक । पाल्पाकाे रानीमहल नजिकै भएको जिप दुर्घटनाका मृतकको पहिचान खुलेको छ ।
आज बेलुकी ५ बजेतिर रानीमहल नजिकै भएको जिप दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ ।
घटनामा परी गम्भीर घाइते भएका चालक ३५ वर्षीय ईश्वर लोहनी पनि देवचुलीकै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
घाइते लोहनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बर जीप सडकदेखि तल खोंचमा खसेर दुर्घटना भएकाे थियाे ।