तनहुँमा एकै दिन थपिए एक सय बयासी डेङ्गु सङ्क्रमित

तनहुँ, १५ कात्तिक । तनहुँमा एकै दिन एक सय बयासी डेङ्गु सङ्क्रमित थपिएका छन् । करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन ।

मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको हाे।

जिल्लामा सोमबारसम्म छ हजार चार सय ८४ जना डेङ्गु सङ्क्रमित रहेकोमा वृद्धि भई छ हजार छ सय छैसठ्ठी जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

व्यास नगरपालिकामा ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा थपिएर पाँच हजार चार सय ७५ जना पुगेको छ । डेङ्गु सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय ९६, ऋषिङ गाउँपालिकामा एक सय ९४, भिमाद नगरपालिकामा एक सय ८४, म्याग्दे गाउँपालिकामा एक सय १०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।

अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गु सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रसस्त पिउने, फलफूल खाना र आराम गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *