बङ्गलादेश क्रिकेट कप्तान शकिबको राजनीतिमा प्रवेश

एजेन्सी, ३ मंसिर । बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गर्नुभएको छ ।

आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उहाँले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारीका लागि नामाङ्कन माग गर्नुभएको छ ।

अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्नका लागि शनिबार पार्टीबाट नामाङ्कन फाराम लिनुभएको छ । प्रमुख प्रतिपक्षीहरूले सो निर्वाचन बहिष्कार गर्ने तयारी गरिरहेका छन् ।

क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले भन्नुभयो, “उहाँ सेलिब्रिटी हुनुहुन्छ र देशका युवाहरूमाझ लोकप्रिय हुनुहुन्छ ।” शकिबको उम्मेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ । नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकामा कुनै एक स्थानबाट निर्वाचन लड्ने आशा व्यक्त गर्नुभएको छ ।

पछिल्लो १५ वर्षदेखि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको नेतृत्व गरिरहनुभएकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ । यदि विपक्षी दलहरूले निर्वाचनलाई बहिष्कार गरेभने उहाँ चौथो पटक सत्तामा फर्कने करिब निश्चित छ ।