मिस युनिभर्स २०२६ को उपाधि प्युर्टो रिकोकी जेनिफर बारेटोलाई
सान जुआन । प्युर्टो रिकोकी जेनिफर बारेटोले मिस युनिभर्स २०२६ को उपाधि जितेकी छन्। प्युर्टो रिकोको राजधानी सान जुआनमा मंगलबार आयोजित अन्तिम प्रतिस्पर्धामा २७ वर्षीया बारेटोले ११५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्।
सामाजिक कार्यकर्तासमेत रहेकी बारेटो मिस युनिभर्सको उपाधि जित्ने पहिलो विवाहित महिला तथा पहिलो आमा बनेकी छन्। आयोजकले तीन वर्षअघि विवाह गरेका वा सन्तान जन्माएका महिलालाई प्रतियोगितामा सहभागी हुन नदिने व्यवस्था हटाएको थियो।
प्रतियोगिताको अन्तिम चरणमा प्रारम्भिक प्रतिस्पर्धाका आधारमा छनोट भएका ३० जना सहभागीले स्विमवेयर चरणमा प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये १२ जना इभिनिङ गाउन चरणका लागि छनोट भए। अन्तिम पाँच प्रतिस्पर्धीलाई निर्णायकले विभिन्न प्रश्न सोधेका थिए।
कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगका बीच मानिसले कहिल्यै गुमाउन नहुने मानवीय मूल्यबारे सोधिएको प्रश्नमा बारेटोले जिम्मेवारीपूर्वक प्रविधिको प्रयोग गर्नुपर्ने बताइन्। उनले कृत्रिम बुद्धिमत्ताले मानवीय मूल्यलाई जोखिममा पार्छ भने ती मूल्य वास्तवमा मूल्य नै नभएको धारणा व्यक्त गरिन्।
यस वर्षको मिस युनिभर्स प्रतियोगिता भने सुरुदेखि नै विभिन्न विवादमा परेको थियो। अमेरिकी भिसा प्राप्त गर्न कठिनाइ तथा ढिलाइ भएपछि नेपालसहित अफ्रिकाका पाँच देशका सुन्दरी प्रतियोगिताबाट बाहिरिनुपरेको थियो। दक्षिण सुडान र कंगो गणतन्त्र पहिलोपटक प्रतियोगितामा सहभागी भएका थिए।
त्यस्तै, थाइल्यान्डका व्यवसायी नावत इत्साराग्रिसिलसँग मिस युनिभर्स संगठनको जारी व्यावसायिक विवादका कारण इन्डोनेसिया, लाओस, मलेसिया, सिंगापुर, थाइल्यान्ड र भियतनामका प्रतिस्पर्धी पनि अन्तिम प्रतियोगितामा सहभागी हुन सकेनन्।
गत वर्षको प्रतियोगितामा मतपरिणाममा अनियमितता र पक्षपात भएको आरोप लागेपछि यस वर्ष पनि निर्णायक प्रक्रियामाथि प्रश्न उठेको थियो। गत वर्ष निर्णायकमध्येका ओमार हारफुसले अन्तिम प्रतिस्पर्धाको तीन दिनअघि राजीनामा दिएका थिए। उनले परिणाम पहिल्यै तय गरिएको आरोप लगाएका थिए।
गत वर्षको विजेता मेक्सिकोकी फातिमा बोस्कलाई पनि उनका बुबाको मिस युनिभर्सका सहमालिक राउल रोचा कान्तुसँगको कथित व्यावसायिक सम्बन्धका कारण विजेता बनाइएको आरोप लागेको थियो। बोस्क तथा मिस युनिभर्स संगठनले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन्।
यस वर्ष निर्णायक मण्डल प्रतियोगिताको एक दिनअघि मात्रै सार्वजनिक गरिएको थियो। स्वतन्त्र लेखापरीक्षक कम्पनी अर्न्स्ट एन्ड यङले समेत तीन वर्षदेखि मिस युनिभर्सको नतिजा प्रमाणीकरण प्रक्रियामा सहभागिता जनाएको छैन।

प्रतियोगितामा सुधारको आवश्यकता रहेको बताउँदै नावतले प्रतिस्पर्धीले आफूलाई कसले मूल्याङ्कन गर्ने, निर्णायक कसरी चयन हुन्छन्, अंक कसरी प्रमाणीकरण गरिन्छ र स्वार्थको द्वन्द्व कसरी व्यवस्थापन गरिन्छ भन्ने स्पष्ट रूपमा थाहा पाउनुपर्ने बताएका थिए।
यसैबीच, प्रतियोगितामा ल्याटिन अमेरिकी सुन्दरीहरूको प्रभाव देखिएको छ। डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो रनरअप तथा भेनेजुएलाकी क्लारा भेगास दोस्रो रनरअप घोषित भइन्।
प्युर्टो रिकोले अब मिस युनिभर्सको उपाधि जित्नेमा अमेरिका र भेनेजुएलापछि तेस्रो स्थानमा आफूलाई उभ्याएको छ। प्युर्टो रिकोले यसअघि पाँचपटक उपाधि जितिसकेको थियो। यसपटकको उपाधिसँगै उसको उपाधि संख्या छ पुगेको छ।
प्युर्टो रिकोले मिस युनिभर्सको फाइनल चौथोपटक आयोजना गरेको हो। यसअघि सन् १९७२, २००१ र २००२ मा पनि त्यहाँ प्रतियोगिता आयोजना भएको थियो। सन् २००१ मा प्युर्टो रिकोकी डेनिस क्विनोनेसले आफ्नै भूमिमा उपाधि जितेकी थिइन्।
मिस युनिभर्स संगठनले पछिल्ला वर्षमा प्रतियोगितालाई आधुनिक बनाउने प्रयासस्वरूप गर्भवती महिला, आमा तथा विवाहित वा पहिले विवाह गरिसकेका महिलामाथिको प्रतिबन्ध हटाएको छ। सन् २०२३ मा २८ वर्षभन्दा माथिका महिलालाई प्रतियोगितामा सहभागी हुन नदिने लामो समयदेखिको प्रतिबन्ध पनि हटाइएको थियो।
अन्तिम प्रतियोगिताअघि बन्द कोठामा अन्तर्वार्ता तथा राष्ट्रिय पोसाक प्रदर्शनलगायतका विभिन्न चरण आयोजना गरिएको थियो। राष्ट्रिय पोसाक प्रदर्शनका क्रममा इजरायलकी ड्यानिएल याब्लोन्काले अंग्रेजी, हिब्रु र अरबी भाषामा ‘शान्ति’ लेखिएको केप लगाएर प्रस्तुति दिँदा केही दर्शकबाट हुटिङसमेत भएको थियो।
