अमेरिकामा हवाई सेवा अवरुद्ध गराउने प्राविधिक समस्याको कारण पत्ता लाग्यो

वासिङ्टन — अमेरिकाको हवाई यातायात प्रणालीमा यसै महिनाको सुरुवातमा देखिएको राष्ट्रव्यापी अवरोधको कारणबारे अनुसन्धान गरिरहेका अधिकारीहरूले प्राविधिक समस्या पुनः प्रयोगशालामा दोहोर्‍याएर परीक्षण गर्न सफल भएका छन्। अनुसन्धानकर्ताहरूले समस्याको सम्भावित कारणसमेत पहिचान गरेको स्रोतले जनाएको छ।

अनुसन्धानका क्रममा अर्कान्सासस्थित एक दुर्गम रेडियो साइटमा जडान गरिएको नयाँ राउटरले हवाई यातायात नियन्त्रण प्रणालीमा अत्यधिक मात्रामा डेटा पठाउँदा राडार तथा रेडियो सञ्चारमा समस्या आएको पाइएको छ।

अनुसन्धानकर्ताका अनुसार नयाँ राउटरमा रहेको एउटा सेटिङले दशकौँ पुराना राउटरसँगको अन्तरसम्बन्धमा समस्या सिर्जना गरेको थियो। ती पुराना राउटरहरूलाई संघीय उड्डयन प्रशासन (एफएए) ले क्रमशः हटाउने तयारी गरिरहेको छ।

समस्याको पुनरावृत्ति रोक्न सफ्टवेयर अपडेट आवश्यक पर्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ। यससम्बन्धी प्रतिवेदन तयार पार्ने काम भइरहेको छ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार अवरोध साइबर आक्रमण वा अन्य आपराधिक गतिविधिका कारण भएको सम्भावना कम छ। स्रोतले अनुसन्धानकर्ताहरू यस विषयमा करिब ९० प्रतिशत निश्चित रहेको बताएको छ। अनुसन्धानमा एफबीआईसहित राष्ट्रिय सुरक्षा निकायका प्रतिनिधिहरू पनि संलग्न थिए।

यो निष्कर्ष सार्वजनिक हुन लागेको समयमा एफएएका प्रशासक ब्रायन बेडफोर्ड र यातायातमन्त्री सान डफी आगामी साता अमेरिकी संसद्का सुनुवाइमा उपस्थित हुँदैछन्। त्यहाँ उनीहरूले प्राविधिक समस्या, एफएएको निगरानी प्रणाली र अमेरिकी हवाई यातायात नियन्त्रण प्रणालीको आधुनिकीकरणबारे कडा प्रश्नको सामना गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हवाई यातायात नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि अर्बौँ डलर छुट्याएको छ। यातायातमन्त्री डफीले थप ५० अर्ब डलर बजेट स्वीकृत गर्न संसद्सँग आग्रह गरेका छन्।

चार जनामात्र एफएए समन्वयकर्ता

हवाई यातायात प्रणाली अवरुद्ध भएको दिन एल३ह्यारिसले पुरानो राउटर हटाएर नयाँ राउटर जडान गर्ने मर्मतसम्बन्धी काम गरिरहेको थियो। विगतमा यस्तो कामका लागि कम्तीमा छ जना एफएएका कर्मचारीको सहभागिता हुने गरेको थियो।

तर ट्रम्प प्रशासनले मर्मतसम्बन्धी कामलाई तीव्रता दिने नीति लिएपछि अहिले यस्तो काम प्रायः एक जना एफएए सम्पर्क अधिकारीमार्फत समन्वय हुने गरेको छ। स्रोतका अनुसार अमेरिकाभर त्यस्ता अधिकारी चार जना मात्र छन्।

उनीहरूको मुख्य जिम्मेवारी मर्मतसम्बन्धी कामको समन्वय र समय निर्धारण गर्नु हो। कामलाई अन्तिम स्वीकृति दिने अधिकार भने उनीहरूसँग छैन। प्रशासनले मर्मतसम्बन्धी काम छिटो अघि बढाउने उद्देश्यले एफएको पूर्वस्वीकृतिको आवश्यकता हटाएको थियो।

एफएका प्राविधिक कर्मचारीहरूको प्रतिनिधित्व गर्ने प्रोफेसनल एभिएसन सेफ्टी स्पेसलिस्ट्स युनियनले यो परिवर्तनको आलोचना गरेको छ।

युनियनका अध्यक्ष डेभिड स्पेरोका अनुसार राष्ट्रिय हवाई क्षेत्र प्रणालीभर दूरसञ्चारसम्बन्धी मर्मत र अवरोधको समन्वय गर्न चार जना कर्मचारीमात्र राख्नु व्यावहारिक छैन। स्रोतका अनुसार ती कर्मचारीहरूले अत्यधिक ओभरटाइम काम गरिरहेका छन्।

यसअघि मर्मतसम्बन्धी काम कहिले गर्दा हवाई यातायातमा कम असर पर्छ र सम्भावित जोखिम कसरी घटाउन सकिन्छ भन्ने विषयमा स्थानीय प्राविधिक व्यवस्थापक, साइटका प्राविधिक कर्मचारीलगायतले विस्तृत समीक्षा गर्ने गरेका थिए। तर नयाँ प्रक्रियाले त्यस्तो समीक्षा कमजोर बनाएको युनियनको दाबी छ।

युनियनका अनुसार नोभेम्बर १३ मा एल३ह्यारिसका कर्मचारी अर्कान्सासको एल डोराडोस्थित साइटमा पुग्दा उक्त स्तरको जोखिम मूल्यांकन भएको थिएन।

एफएएको भनाइ—निगरानी निरन्तर छ

एफएएले भने निजी कम्पनीलाई आफ्नो दूरसञ्चार पूर्वाधारको मर्मतसम्भारको जिम्मेवारी दिइए पनि निगरानी कमजोर नभएको दाबी गरेको छ।

एफएएका अनुसार राष्ट्रिय हवाई क्षेत्र प्रणालीमा हुने परिवर्तनबारे निरन्तर जोखिम मूल्यांकन गरिन्छ। एल३ह्यारिसले एफएए दूरसञ्चार पूर्वाधारको स्वामित्व र मर्मतसम्भारको जिम्मेवारी लिएको भन्दै एफएएले प्रत्यक्ष रूपमा प्रत्येक कामको निगरानी नगर्ने जनाएको छ।

एफएएका अनुसार कर्मचारीले एल३ह्यारिसले जडान गरेको राउटरको आन्तरिक कामको प्रत्यक्ष प्रमाणिकरण वा हस्ताक्षर गर्ने व्यवस्था छैन। यसको सट्टा सेवा प्रदर्शनको निगरानीमार्फत ठेकेदार कम्पनीको कामको मूल्यांकन गरिन्छ।

युनियनले भने निजी कम्पनीहरूलाई अत्यधिक अधिकार र प्रणालीमा व्यापक पहुँच दिइएको आरोप लगाएको छ।

२००९ मा पनि राउटरकै कारण ठूलो अवरोध

एफएएले यसअघि पनि हवाई यातायात नियन्त्रण प्रणालीको मर्मत र आधुनिकीकरण गर्ने ठेकेदारको निगरानीमा समस्या भोगेको थियो।

नोभेम्बर १९, २००९ मा अमेरिकाका १२९ हवाई यातायात केन्द्रमा एफएएको दूरसञ्चार सेवा अवरुद्ध हुँदा हजारौँ यात्रु प्रभावित भएका थिए भने सयौँ उडान रद्द वा रोकिएका थिए।

अनुसन्धानबाट त्यतिबेला ह्यारिस कर्पोरेसनका एक प्राविधिकले लस एन्जलसस्थित एयर ट्राफिक कन्ट्रोल सेन्टरमा रहेको एफएए दूरसञ्चार राउटर गलत तरिकाले कन्फिगर गरेको पाइएको थियो। ह्यारिस कर्पोरेसन पछि एल३ टेक्नोलोजिजसँग गाभिएर एल३ह्यारिस बनेको हो।

गलत कन्फिगरेसनका कारण हवाई यातायातसम्बन्धी डेटा गलत मार्गमा पठिएको थियो र नेटवर्कको करिब ७५ प्रतिशत हिस्सा प्रभावित भएको थियो।

समस्या पहिचान गर्ने स्वचालित प्रणालीले पनि अपेक्षित रूपमा काम नगरेपछि सेवा पुनः सञ्चालन गर्न करिब पाँच घण्टा लागेको थियो। त्यसका कारण प्राविधिकहरूले समस्याको वास्तविक स्रोत तत्काल पहिचान गर्न सकेका थिएनन्।

त्यतिबेला अमेरिकी यातायात विभागका महानिरीक्षकले एफएएको ठेकेदारमाथिको निगरानी अझ प्रभावकारी हुन सक्ने निष्कर्ष निकालेका थिए।

महानिरीक्षकको प्रतिवेदनमा एफएएलाई ह्यारिसका अधिकारीहरूले नेटवर्क गलत तरिकाले कन्फिगर गरेको र अन्य प्रक्रियागत त्रुटि गरेको जानकारीसमेत नभएको उल्लेख गरिएको थियो। प्रतिवेदनले भविष्यमा यस्ता अवरोध रोक्न र सेवा अवरुद्ध भएमा छिटो पुनः सञ्चालन गर्न थप प्रभावकारी नियन्त्रण प्रणाली विकास गर्न सुझाव दिएको थियो।(स्रोतःसिएनएन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *