महको पकेट क्षेत्र बन्दै अर्मला

गण्डकी, ३ मङ्सिर । पोखरा महानगरपालिका–१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेको छ ।

बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन क्षेत्र बढेसँगै महानगरको ५० प्रतिशत अनुदानबाट यहाँका किसान मौरीपालनतर्फ आकर्षक भएका हुन् । रु तेईस लाख ४६ हजार सात सय ७० बराबरका ६६ घरपरिवारलाई ९३ थान मौरीसहितको घार वितरण गरिएको कृषि सञ्जालका अध्यक्ष जीतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस कार्यका लगि महानगरबाट प्राप्त रु ११ लाख ९५ हजार सात सय ३० अनुदान र किसानबाट सङ्कलित रु एघार लाख ५१ हजार ४० लगानी भइसकेको छ । गत जेठ महिनामा वितरण गरिएका घारबाट किसानले पहिलो पटक मह उत्पादन सुरु गरेका छन् ।

उक्त सञ्जालले मौरी पालनसम्बन्धी विभिन्न तालिमसमेत प्रदान गर्दै आएको उहाँको भनाइ थियो । मौरीसहितका छ घार खरिद गरिएको बताउनुहुने पोखरा–१६ स्थित महेन्द्र गुफा चोककी निर्मला बस्नेतले उत्पादित मह बिक्री पनि गरिसकेको बताउनुभयो ।

घरमा दुई वर्षअघि खरिद गरेको घार थियो, मह उत्पादन पनि राम्रै भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अनुदानमा पाएको घारका साथै सुरक्षा सामग्री र सूर्यमुखी फूलको बीउले मौरी पालनका लागि थप उत्साही बनाएको छ । यस अघिका घारबाट उत्पादित मह पनि प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ ।”

“महानगरले एक घार बीउ मौरी दिएर मात्र हुँदैन, घार विस्तार गरी नयाँ घार खरिदमा पनि अनुदानको व्यवस्था गर्नु अपरिआर्य छ” बस्नेतले थप्नुभयो,“एउटा खाली घारलाई चार हजार पाँच सय पर्छ किसानले आफ्नाे लगानीलाई कहिले व्यवसायमा परिणत गर्ने?” अर्मला डिहीकी रामलक्ष्मी गुरुङले भन्नुभयो, “घर छेउको बारीमा चार वटा मौरीका घार छन् मह बिक्रीबाट बार्षिक रु ५० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको छ, बीस घार पुर्याएर रु चार लाखदेखि पाँच लाख आम्दानी गर्ने सोच छ ।

उत्पादित मह बिक्री हुदैन की भन्नुपर्दैन विदेशबाट आएको माग पनि पुर्याउन नसकेको बताउँदै सञ्जालको सदस्यसमेत रहनुभएकी गुरुङले भन्नुभयो,“मह काट्न, घार फुटाउन र सरसफाइ गर्नका लागि पनि तालिम लिएकी छु सबै काम आफै गछु ।”मौरीलाई कृतिम आहार दिनुपर्दैन चरन पर्याप्त भएका कारण प्राङ्गारिक मह उत्पादन गर्दै आएको छ तर जङ्गलका बारुला, अरिङ्गाल, खपटे कीरालगायतले दुःख दिने गरेको उहाँले बताउनुभयो ।

सोही क्षेत्रका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाका अनुसार अर्मलालाई कृषिको हव बनाउने लक्ष्यका साथ मौरीसहित तरकारी, पशुपालन, आलुको बीउ उत्पादनलगायत क्षेत्रमा अनुदानको व्यवस्था गरेर किसनालाई प्रोत्साहन गर्दै आइरहेकाे बताउनुभयाे ।

आगामी दिनमा किसानलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने खालका कार्यक्रममा जोड दिइने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *