नाका नखुल्दा चौँरी बिक्री भएन, किसानलाई सास्ती

ताप्लेजुङ, ५ मंसिर । जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ ।

चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उहाँको दिन बितिरहेको छ ।

शेर्पाको पुख्र्यौली पेसा चौँरीपालन हो । तर उहाँ केही समय पुख्र्यौली पेशालाई छाडेर होटल व्यसायमा लाग्नुभयो । उहाँले संखुवासभा जिल्ला र काठमाडौँ गरी १३ वर्ष होटल सञ्चालन गर्नुभयो । सो व्यवासय गर्दा आफ्नो पुर्खाले गरेको चौँरीगोठ सम्झना आइरहन्थ्यो । उहाँले भन्नुभयो “ होटल व्यवसाय मन परेन , बिक्री गरेर पुख्र्यौली पेशामै फर्किन मन लाग्यो ।” शेर्पासँग अहिले तोक्पेगोला क्षेत्रमा दुई सय ५० भन्दा बढी चौँरी छन् ।

चार वर्ष अगाडि एउटा चौँरी रु ७० हजारदेखि एक लाख ४० हजारसम्ममा चीनमा निर्यात हुन्थ्यो । कोभिड–१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै चौँरी बिक्री ठप्प भएको छ । चिनियाँ बजारमा राम्रो मूल्यमा चौँरी निर्यात हुने देखेपछि होटल व्यवसाय छाडेर चौँरीपालन लागेका शेर्पा अहिले निराश हुनुहुन्छ । उहाँले भन्नुभयो, “होटल बेचेर यहाँ आइयो । गोठ विस्तार गरे । तर नाका नखुल्दा चौँरी बिक्री हुन छाड्यो ।”

फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका तेन्जिङ शेर्पा चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो । उहाँको समुद्र सतहबाट चार हजार तीन सय मिटर उचाइको मौवाटारमा गोठ छ । छोराछोरीलाई अंशका रूपमा चौँरी बाँडेर पनि उहाँसँग अहिले ४० छन् । बाह्र दुहुना छन् । बिहान उठ्नेबित्तिकै एक गिलास दूध चिया लिएपछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।

चौँरीलाई चरन क्षेत्रमा पुर्याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्पी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरीलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म चन्द्रमा उदाइसक्छ ।

विगत चौँरी र बाछा बिक्रीबाट राम्रो आम्दानी हुन्थ्यो । चौँरी बिक्री नहुँदा आम्दानी पनि छैन । अहिले चौँरीलाई नुन खुवाउनसमेत मुस्किल भएको शेर्पाले बताउनुभयो । मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रका तेन्जिङनुपु शेर्पा अहिले चौँरीगोठमा चौँरी स्याहार्नमा व्यस्त हुनुहुन्छ । शेर्पाले पनि विगत चार वर्षदेखि चौँरी बिक्री गर्न सक्नुभएको छैन ।

मौवटारमा चार, सिञ्जेमा पोखरी क्षेत्रमा दुई र याङ्मा क्षेत्रमा नौवटा चौँरीको घुम्तीगोठ छ । मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा ३५ गोठमध्ये १७ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिकाका पशु शाखाका पशु प्राविधिक महेन्द्र अधिकारीले बताउनुभयो ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छन् । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुँदै आएको छ । दैनिक चौँरी चराउँदैमा उहाँहरूको दिन बित्ने गर्छ । यहाँका चौँरीको मुख्य बजार चीन हो । चीनमा राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले हिमाली क्षेत्रका समुदाय चौँरीपालनप्रति आकर्षित हुने गर्दछ । तर कोभिड–१९ का कारणले गर्दा बन्द भएको टिप्ताला नाका चार वर्षमा पनि नखुल्दा चौँरीपालक चिन्तित बनेका छन् ।