काठमाडौंमा मनाइयो हलिमलि पूर्णे

जब संस्कृतिमा कला जोडिन्छ

काठमाडौं, १२ मंसिर । काठमाडौं उपत्यकामा मनाइने संस्कृतिहरू सद्भाव, दर्शन, भाइचारा र सहिष्णुताको प्रतीक त हो नै, त्यसको साथसाथै केही संस्कृतिहरू यस्ता पनि छन् जुन उतिकै कलात्मक पनि हुन्छन् । संस्कृतिमा कला थपेर मनाइने एउटा विशिष्ट पर्व हो हलिमलि पुन्हि । अर्थात हलिमलि पूर्णिमा । हिजो सोमवारको पूर्णिमा काठमाडौंमा यस्तै कलात्मक हलिमलि प्रदर्शन गर्दै मनाइयो ।

दशैंको पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिनदेखि काठमाडौंका टोल टोलमा दाफा बजाउँदै भजन गाउने चलन रहँदै आएको छ । विभिन्न टोलमा रहेका पाटी, सत्तल, गुठीघर आदि जस्ता सार्वजनिक स्थानमा यसरी दाफा भजन गाउने गरिन्छ ।

दशैं पछिको पूर्णेदेखि शुरु हुने यो दाफा तिहार पछिको पूर्णेका दिन समापन गरिन्छ । दाफा समापन गरिएको दिन दाफा भजन गाइने स्थानमा अवस्थित विभिन्न मन्दिर, चैत्य आदिका सामु भुटेका विभिन्न गेडागुडीबाट कलात्मक चित्र बनाउने गरिन्छ । त्यो चित्रलाई हलिमलि भनिन्छ । हलिमलिमा भुटेको मकै, गहुँ, चना, बोडी, भटमास, बकुला, बदाम आदि जस्ता गेडागुडी रहेका हुन्छन् ।

यी गेडागुडीहरू प्रयोग गरी स्वयम्भू, चीभाः, गणेश, मन्दिर, कलश, सरस्वती आदि जस्ता कलात्मक हलिमलि चित्र बनाइन्छ । दाफा भजन सकिए पछि उक्त हलिमलिमा प्रयोग गरिएका गेडागुडीहरू प्रसादका रुपमा बाँडेर खाने गरिन्छ ।

हिजो पूर्णिमाका दिन काठमाडौंका विभिन्न सामुदायिक विद्यालयहरूमा पनि विद्यार्थीहरूले हलिमलि बनाएका थिए । काठमाडौं महानगरपालिकाले तयार गरेको स्थानीय विषयको कक्षा ६ को पाठ्यक्रममा हलिमलि सम्बन्धी पाठ पनि समावेश गरिएको छ ।

यो पूर्णिमाका दिन काठमाडौं उपत्यकामा पिँडालु, रातो पिँडालु आदि जस्ता खाद्यान्न उसिनेर खाने पनि चलन रहेको छ । पिँडालुलाई नेपालभाषामा सकि भनिन्छ । सकि खाएर मनाइने पूर्णिमा भएकोले यो दिनलाई ‘सकिमिला पुन्हि’ पनि भनिन्छ । जाडो याममा यी खाद्यान्नहरू सेवन गर्नाले शरीरलाई आवश्यक ताप प्राप्त हुने गर्दछ । साथै चिसो, रुघाखोकी जस्ता रोगबाट पनि बचाउँदछ ।

यो पूर्णिमाका दिन व्रत बस्ने पनि चलन रहेको छ । यो दिन व्रत बस्नाले सुख, शान्ति र कार्यमा सफलता प्राप्त हुने विश्वास गरिन्छ ।

काठमाडौंमा श्री स्वयम्भू भगवान उत्पन्न भएको पनि यही दिनमा हो भन्ने मान्यता रहेको छ । त्यसैले यो दिन स्वयम्भूको रत्नमण्डलको शिरमा तथागत समन्तभद्र बुद्ध बस्नुभएको मानिन्छ । यो दिन बेलुकी स्वयम्भू महाचैत्य दर्शन गर्न जानेहरू पनि धेरै हुन्छन् । यस उपलक्ष्यमा हिजो स्वयम्भू महाचैत्यमा विशेष पूजाआजा पनि गरिएको थियो ।