मेलम्चीको पानी एक महिनाभित्र उपभोक्ताकाे घरघरमा वितरण हुने
काठमाडौं, ४ पुस । मेलम्चीको पानी एक महिनाभित्र उपभोक्तालाई वितरण हुने गरी पथान्तरणको प्रक्रिया सुरु गरिएको छ ।
मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु गरिएकाे हाे ।
मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले बुधबारदेखि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु गरिएकाे र चाँडै उपभोक्तालाई वितरण गर्नेगरी काम सुरूभएकाे जनाएकाे छ ।
मंगलबार खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बैठक बसेको थियो । सो बैठकमा निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत् नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको थियाे ।
समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी २८ दिनभित्र पानी पथान्तरणको कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
पथान्तरण पश्चात मेलम्चीको पानी दैनिक १७ करोड लिटरको दरले उपलब्ध गराइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सो पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकाका घर-घरमा पुनः वितरण हुने छ ।