पोखराबाट उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि…….

कास्की, ५ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान रोकिएको छ ।

मंगलवार बिहान ९ बजेर ४० मिनेटमा एक यात्रुले पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको उडान नं. ६५२ विमानको आकस्मिक ढोका खाेलेपछि उडान रोकिएको हो ।

जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेकाे बुद्ध एयरले जनाएको छ ।

ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले जनाएको छ ।