एक महिनादेखि सम्पर्कविहीन भए वरिष्ठ हवलदारसहित २१ प्रहरी, हप्ता दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं, ११ पुस । नेपाल प्रहरीका वरिष्ठ हवलदारसहित २१ प्रहरी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका वरिष्ठ हवलदारसहित २१ प्रहरी गैर हाजिर रहेको भन्दै सात दिने समय सीमा दिएर सम्पर्कमा आउन निर्देशन दिएको हाे ।

प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुसी गैर हाजिर रहेको जानकारी दिएको छ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।

सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी पनि उनीहरूलाई दिइएको छ ।