नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा निर्वाचित
काठमाडौं, २३ पुस । नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सुदीप थापा निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल विज्ञापन संघको २४औं साधारण सभाले थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य र द्वितीय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङका पंकजलाल प्रधान निर्विरोध निर्वाचित भएका छन् । यस्तै महासचिवमा फ्युचर हब मिडिया मल्टिपर्पाेजका कृष्णप्रसाद घिमिरे र सहकोषाध्यक्षमा मिडिया टाइम्समा अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्ष र सदस्यबाहेक अन्य पदमा उम्मेदवारी दिएकाहरू निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनमार्फत कोषाध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्ष पदका लागि जिरो मिडियाका जीवन पोख्रेल र जोइन मिडियाका श्रेष्ठ रहेका थिए । श्रेष्ठ पोख्रेललाई पराजित गर्दै कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै संघको सदस्यहरुमा बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’, एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पाण्डा एड लिंकका दिपेन्द्र पौडेल, मेक वेजका विधान राजभण्डारी, रेडियो लिंकका रोशन पौडेल, मार्सका मनिस अधिकारी र भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल निर्वाचित भएका छन् ।
संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र नयाँ कार्यसमिति तीन वर्षको लागि निर्वाचित भएको संघले जनाएको छ ।