पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

एजेन्सी, १६ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री खानलाई गोप्य दस्तावेज सार्वजनिक गरेको अभियोगमा १० वर्ष जेल सजाय सुनाएको हाे ।

गोपनीयता अधिनियमअन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले मंगलबार पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्ष जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ । पाकिस्तानमा आम चुनावको केही दिनअघि खानमाथि जेल सजाय सुनाइएको हो । यो मुद्दामा सफाई पाएको भए इमरानले चुनावमा भाग लिन पाउने सम्भावना थियो ।

पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध लगाइएको आरोप अश्विकार गरेका छन् । उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले उच्च अदालतमा यो फैसलालाई चुनौती दिने बताएको छ ।

‘झूटो साइफर मुद्दामा पूर्वप्रधानमन्त्री इमरान खान र विदेशमन्त्री महमूद कुरैशीलाई १० वर्ष जेल सजाय सुनाइएको छ । यसमा न मिडियालाई पहुँच दिइएको छ न यसको ट्रायल सार्वजनिक गरिएको छ । हाम्रो कानूनी टिमले उच्च न्यायालयमा चुनौती दिनेछ । ‘ पीटीआईले उच्च न्यायालयले यो फैसला उल्टाउने अपेक्षा गरेको समेत जनाएको छ ।

सन् २०२२ मा खान विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको थियो । यसअघि उनलाई भ्रष्टाचारको अर्को एक मामिलामा तीन वर्षको जेल सजाय सुनाइएको थियो ।