नेपाल प्रहरीका १६ एसएसपीको काज सरुवा, काे कहाँ पुगे ?
काठमाडौं, २६ माघ । नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ ।
शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै गृह मन्त्रालयले जनपद प्रहरी समूहतर्फका एसएसपीहरूको काज सरुवा गरिएकाे हाे ।
सरुवा सूची अनुसार मानव बेचविखन अनुसन्धान व्यूरोका प्रमुख फेरिएका छन् । ब्यूरोको प्रमुखको जिम्मेवारीमा रहेका एसएसपी जिवनकुमार श्रेष्ठको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएको छ भने काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा प्रमुख रहेका ओमबहादुर रानालाई व्यूरको प्रमुखको जिम्मेवारी दिइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका राजेन्द्रप्रसाद भट्टको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)मा काज सरुवा भएको छ भने त्यहाँ कार्यरत रहेका सुशिलसिंह राठौरको कोशी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा विराटनगर, मोरङ (काज भने नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौं) भएको छ ।
यस्तै त्रिभुवन अन्तराष्ट्रि विमानस्थल सुरक्षा कार्यालयमा दोस्रो बरियतामा रहेका दीप शम्शेर जवराको बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौडा, मकवानपुर (काज : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज)मा भएको छ भने बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यरत रहेको कृष्णहरी शर्माको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।