प्रहरीको डंकी अपरेशन : अमेरीका लान्छु भनेर काठमाडौंमा बन्धक बनाएका ११ भारतीयको उद्दार, बन्धक बनाउने ९ जना पक्राउ

काठमाडौं, ४ फागुन । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार ११ जना भारतीय नागरिकलाई काठमाडाैंकाे रातोपुलस्थित धोबीखोला करिडोर छेउबाट उद्दार गरेको छ ।

अमेरिका पठाइदिने भनेर काठमाडौं ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको हाे ।

भारतीय नागरिकलाई अमेरिका पठाउने भनेर काठमाडौंमा ल्याएर रातोपुलको एक घरमा बन्धक बनाएको आरोपमा ८ भारतीय र एक नेपाली गरी ९ जना पनि पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले डंकी अपरेशन चलाएर उनीहरूकाे उद्दार गरेको हाे भने बन्धक बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बिहीबार पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिँदै गिरोहका संलग्न ९ जनालाई सार्वजनिक गरेकाे छ ।

प्रहरीले रातोपुलको घरबारे गोप्य सूचना पाएपछि त्यहाँ दुई दिन निगरानी गरेको थियो। त्यसपछि प्रहरी घरमा प्रवेश गरेको थियो। सुरुमा त पीडितहरुले आफूहरु कम्मलको काम गर्ने भनेका थिए। उनीहरूलाई गिरोहका मान्छेले त्यही सिकाएकाले उनीहरूकै मान्छे होलान् भनेर त्यस्तो भनेको पीडितले बताए। पीडितहरुले जब त्यहाँ आएकाहरु प्रहरी हुन् भन्ने थाहा पाए, त्यसपछि उनीहरुले सबै कुरा बताएका थिए।

प्रहरीले उनीहरुलाई उद्धारपछि होटलमा व्यवस्था गरेर राखेको एसएसपी खत्रीले जानकारी दिए। उद्धार गरिएका मध्य अधिकांश ३० वर्षभन्दा कम उमेरका छन्। उनीहरू हरेकले ४०/४५ लाख भारतीय रुपैयाँ बुझाएको र नेपाल आएपछि थप ३ हजार डलर उनीहरूसँग गिरोहले लिएको एसएसपी खत्रीले जानकारी दिए।

काठमाडौँ प्रहरी परिसरका प्रमुख भूपेन्द्र खत्रीका अनुसार भारतीय नागरिक इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा पक्राउ गरेका हुन्। नेपाली नागरिकको नाम भने खुलाइएको छैन। यीमध्ये यादव यसका प्रमुख योजनाकार रहेकाे प्रहरीले जनाएकाे छ ।