ललितपुरको नागबहालमा भाेली १ सय २५ देवीदेवताको एकैपटक प्रदर्शनी हुने

काठमाडाैं, ३० फागुन । ललितपुरको नागबहालमा भाेली चैत्र १ गते विहीबार उपत्यकाका ३२ महाविहार (बहाःबही) का १ सय २५ देवीदेवताको एकैपटक दर्शन एवं पूजा गरिने भएकाे छ ।

ललितपुरमा पाँच वर्षको एकचोटी फागुण शुक्ल तृतीया र चौथीको दिन सम्यक महादान पर्व हुने परम्परा रहेको छ। त्यही परम्परा अनुसार इतिल्हन सम्यक महादान पर्वमा चापाँगाउँ, बुंङ्गमती, किर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका देवीदेवताको एक स्थान प्रदर्शनी दर्शन गर्न पाउने भएकाे हाे ।

हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्यका अनुसार सोही दिन दिउँसो नागबहाल परिसरमा रहेको ढुङ्गेधारामा धाः बाजा र बाँसुरी बाजाको प्रदर्शन गरिने छ । उक्त दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म भूमीशोधन पुजाका साथै दानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन बज्रयानी बौद्ध परम्परा अनुसार मौलिक पोशाकमा सज्जिएका हिरण्यवर्ण महाविहारका बीस स्थविर आजु (जेष्ठ) आजुलाई पनि दान दिने गरिन्छ ।

सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यहरूलाई समेत धानचामल, लड्डु पुरी र दक्षिणा दान दिइन्छ। यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ र यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

यही दान दिने कार्य नै सम्यक पर्वको मुख्य सार रहेको अध्ययेता लोकरत्न शाक्यले बताए। ‘सम्यक महादान लिच्छिविकालीन अमूर्त संस्कृति हो । सम्यक महादान पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको राम्ररी अभिव्यक्त गरेको छ ।’ अध्येयता शाक्यले भने।

सम्यक महादान पर्वको अघिल्लो दिन अर्थात् फागुण ३० गते बुधबार राति भने बढी रौनकता छाउने गर्दछ। राति १० बजेदेखि १ बजेसम्ममा विभिन्न स्थानबाट भक्तजनहरुको लावालस्कर, परम्परागत धा बाजाका साथ देवीदेवताहरुलाई खटमा राखेर, बोकेर नागबहाल पुर्याउने गरिन्छ।

अध्यक्ष बज्राचार्यका अनुसार नागबहालमा देवी देवता पुर्याउनु अघि विभिन्न स्थानबाट ल्याइएका देवीदेवतालाई मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा राखिनेछ। त्यसपछि ललितपुरको टंगालस्थित जेष्ठवर्ण महाविहार टंगःबहाः गएर बसुन्धरादेवीलाई रथमा राखेर जात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएको देवीदेवतालाई नागबहालमा क्रमबद्ध रुपमा देवीदेवताको विराजमान गराइने परम्परा रहेको छ ।

त्यस्तै सम्यक दान प्रदान गर्नका लागि राखिने देवताको लर्कोमा अतीत बुद्धका रुपमा गौतम बुद्ध भन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रुपमा गौतम बुद्ध र भविष्यको बुद्धका रुपमा मैत्री बुद्धको भव्य सुर्वणमय मूर्ति पनि राखिन्छ। सम्यक दानमा खीर,लाखामरी गरी मीठाईका विविध परिकार सामग्री,रोटी फलफूल दान दिने गरिन्छ । यसका लागि पम्परागत रुपमा गर्नुपर्ने विधि र प्रक्रियाहरु फागुण १ गतेदेखि शुरु भएको हाे ।

समितिका प्रचारप्रसार संयोजक विश्वन्तर शाक्यका अनुसार सम्यक महादान पर्व अगावै विभिन्न धार्मिक विधि र परम्पराहरु गर्नुपर्ने कथन रहेको छ ।

संयोजक शाक्यका अनुसार सो पर्वमा देवीदेवतालाई चढाउन रोटी पकाउने काम धार्मिक विधिपूर्वक फागुण २ गतेदेखि शुरु गरिएको थियो। फागुण ३ गते नागबहालमा प्रतिस्थापित बासुकी र चम्पक नागराजको प्राण प्रतिष्ठा निकालिएको थियो। फागुण २४ गते योसि द्यः ठड्याउने तथा हलिपताका फहराइएको थियो भने फागुण २८ गते सम्यक महादानमा भाग लिन परम्परा अनुसार विभिन्न महाविहारमा गएर निमन्त्रणा गरिने छ । सो पर्वका लागि पुजा व्यवस्थापन, अतिथि सत्कार, शान्ति सुरक्षा, आर्थिक, गरी १० वटा समिति गठन गरिएको छ।

ललितपुरमा ७ सय ७३ वर्षअघि ठकुरीवंशका राजा भाष्करदेवको पालादेखि सम्यक महादान पर्व निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।वि सं १८६१ सम्म वर्षेनी भइरहेको सम्यक महादान पर्व त्यसपछि पाँच वर्षमा एकचोटी सञ्चालन हुँदै आएको छ। अब हुन लागिएको ५४ औं सम्यक महादान पर्व हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *