एसईई परीक्षा आजदेखि सुरु, यस वर्षदेखि ‘लेटर ग्रेडिङ’ प्रणाली लागु

काठमाडौं, १५ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हाे भने २७ गतेसम्म चल्ने छ ।

आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ ।

एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन । यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको हाे ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाइँने कार्यालयले जनाएको छ ।
। ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।