सभामुख नेतृत्वको प्रतिनिधिमण्डल भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ, १६ चैत । सभामुख देवराज घिमिरे नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डबाट स्वदेश फिर्ता हुनुभएको छ ।
जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे नेतृत्वको टोली आज स्वदेश फर्किनुभएकाे हाे । टोली बिहान ९ बजे कतार एअरवेज मार्फत काठमाडौं आइपुग्नुभएकाे छ ।
यही चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गर्नुभएकाे थियो । महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्का तर्फबाट सम्बोधन गर्नुभएको थियो ।
महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतकहरु नेपाली कांग्रेसका रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेशकुमार बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी हुनुभएकोे थियो । यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनुभएको थियो ।