ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प
एजेन्सी, २१ चैत्र । ताइवानमा २५ वर्षपछि शक्तशाली भूकम्प गएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पका कारण मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ भने ५० हजार जना घाइते भएका छन् ।
ताइवानमा अहिलेपनि पराकम्पहरू गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन । भूकम्पका कारण राजधानी ताइपेइमा समेत विद्युत आपूर्ति अवरूद्ध भएको छ।
त्यस्तै छिमेकी मुलुकहरू जापान र फिलिपिन्समा भूकम्पको चेतावनी दिइएको छ।
ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।
भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरु आंशिक रुपमा ध्वस्त भएका छन् । ती भवनहरु कोल्टे परेको देखिन्छ । पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडियो सार्वजनिक भइरहेकाले त्यता तिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ ।
स्थानीय मिडियाहरुले भत्किएका आवासीय भवन र विद्यालयहरुबाट मानिसहरुलाई उद्धार गरिरहेको भिडियो प्रसारण गरिरहेका छन् । स्थानीय प्रसारक टिभिबिएसले गाडीहरुमा पनि क्षति पुगेको र पसलभित्रका सामानहरु छरपस्ट भएको फोटो भिडियो प्रसारण गरिरहेको छ ।