लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन

बुटवल, २५ चैत । लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।

मुख्यमन्त्री नियुक्त हुनुभएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिनुभएकाे हाे । उहाँले पहिलो चरणमा तीन जनालाई मन्त्री नियुक्त गरेसँगै चार सदस्यीय मन्त्रिपरिषद बनेको हो ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहनुभएका छन् ।

बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत लिनुभएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

केन्द्रीय सत्ता समीकरण फेरबदल भएका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।