थलीमा मृत भेटिएका पुरुषका छोरा पनि घाइते अवस्थामा फेला
काठमाडौं, ८ जेठ, । काठमाडाैंकाे कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् ।
थलीमा मृत भेटिएका भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटी रहेकाे प्रहरीकाे अनुसन्धानबाट खुलेकाे थियाे । मृतक नगरकोटीका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार फर्पिङमा घाइते अवस्थामा भेटिएका नगरकोटीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनकी छोरीलाई पनि बबरमहलबाट नियन्त्रणमा लिएको जनाएकाे छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । मृतकका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिनुले थप आशंका बढाएको प्रहरीले जनाएकाे छ ।
मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा लास देखिएको थियो । प्रहरीले घटनास्थलबाट ब्लेडसमेत फेला परेको थियो ।