मुकुण्डोमा छिना र हम्मरले कला भर्दै बडु, भन्छन् जिन्दगी यसैमा बित्ने भयाे

दिपेन्द्र श्रेष्ठ

कला र गला नपुगेकाे देश हुँदैन। कला र गला देशका गहना हुन्। याे शाश्वत भनाइ हुन् ।

सानाे पसल जस्ताे एउटा ढाेका, ढाेका वरिपरि भित्तामा झुण्डाइएका विभिन्न प्रकारका काठका मुकुण्डोहरू, ढाेकाभित्र ज्यावलै ज्यावलले घेरिएका एक मानिस काठकाे मुङ्राेले काठैलाई कुनै आकार दिंदै गरेकाे अवस्था, उनी हुन् सिन्धुपाल्चोकका बडु लामा । उनकाे खास नाम धनबहादुर लामा हाे तर सामाजिक सञ्जालमा प्राय बडु नामले प्रख्यात छन् ।

उमेरले पचास टेकेका उनी ज्यावलले काठमा बुट्टा खाेप्दै मुकुण्डो तयार पार्छन् । यी नै दक्षता बाेकेका कलाकार बडुकाे जन्म सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं ४मा भएकाे बताउँछन् ।

लामा, सेर्पा संस्कृतीमा यस्ता मुकुण्डो प्रयाेग पहिलेदेखि नै भएकाे बडु बताउँछन् । मुकुण्डोकाे आ आफ्नै क्षेत्र र विशेषता हुन्छ । तर बडुले बनाएका मुकुण्डोले पर्यटकहरू आकर्षित हुन्छन् ।

उनी सानै उमेरदेखि बुबालाई मुकुण्डो बनाउन साथ दिन्थे फलस्वरूप उनी कलाकार भए । विभिन्न ज्यावलहरू खेलाइरहेका उनकाे ध्यान बेला बेला यसकाे कति रूपैयाँ भन्नेमा जान्छ । उनकाे पसल चाँगुनारायण मन्दिर जाने सिंढी उक्लँदै जाँदा भेटिन्छ । उनकाे पसलमा मुकुण्डो किन्नेकाे ग्राहककाे आवाजले उनकाे ध्यान बेला बेला तान्छ ।

उनकाे मुकुण्डो पसलमा उनी आफैले तयार पारेकाे मुकुण्डो मात्र व्यापार हुन्छ । उनकाे मुकुण्डोकाे मूल्य कलाकाे संयाेजन कति छ भन्ने कुराले फरक पार्ने कलाकार बडु बताउँछन् ।
उनले दिनमा तीनवटा देखि तीन दिनमा एक वटा तयार हुने मुकुण्डो बनाउँछन् जस्काे आ आफ्नै काम अनुसारको मूल्य छ ।

बडु सानैदेखि कलामा पाेख्त थिए। उनले याे सीप बुबाबाट सिकेकाे बताउँछन् । उनकाे तीन सन्तान छाेरा, छाेरी गरी पाँच परिवार छन् । छाेरा, छाेरी ब्याचलर लेवल पढ्छन भने एक छाेरा वैदेशिक राेजगारमा छन् । यहि मुकुण्डोकाे कमाइले छाेराछाेरीकाे अध्यापनदेखि घरपरिवार चलाइरहेका बडु आफ्नाे कमाइमा खुसी मान्छन् ।

कहिलेकाहीँ त यहि कमाईले पनि बच्चाहरूलाई पढाउन हम्मेहम्मे भएकाे दिन सम्झँदै भन्छन् सार्है गार्हाे छ जिन्दगी चलाउन । एक्लाे ज्यान भए पाे ? परिवार भएपछि जिम्मेवारी बढ्दाे रहेछ त्यहि जिम्मेवारीबोध भएकाे छ । कमाएर केही ठूलाे गर्न नसकिएपनि परिवार पूर्ण छ उनी भन्छन् यसमै खुसी छु ।

केहिसमय घरपरिवार चलाउन हम्मे हम्मे भएकाे बताउने बडु अहिले जिन्दगी चलाउन यहि पेशाले धानेकाे बताउँछन् ।

मुकुण्डोकाे इतिहास खाेतल्ने हाे भने यकिन इतिहास त भेटिंदैन तर यसकाे इतिहास धेरै पुरानाे छ। याे मुकुण्डोकाे इतिहास खासमा भगवानसंग जाेडिएकाे छ।

अहिलेपनि मुकुण्डो लगाएर देवगणहरूले हरेक जात्रामात्रा चलाइन्छ । मुकुण्डो लगाएर विभिन्न भगवानहरूकाे स्वरूप बनाएर देवगण नचाइने परम्परा अहिलेसम्म रहिआएकाे छ।

काठमाडौं उपत्यकाका नेवार समुदायको परम्परागत नाचमा विभिन्न देवदेवी, राक्षस र जनावरका भेषमा नाच्ने चलन छ। नाचका कलाकारहरू मुकुण्डो लगाउँछन्। जसको भेषमा नाच्ने हो त्यसको अनुहार झल्कने मुखाकृती लगाइन्छ। त्यही नक्कली मुखाकृतिलाई ‘मुकुण्डो’ भनिन्छ।

मुकुण्डो केबाट र कसरी बनाइन्छ ?

मुकुण्डो कालाेमाटाे, नेपाली कागज, मलमल कपडा, कपास,मैदाबाट बनाइन्छ। अचेल काठ, तामा, ढलौट र प्लाष्टिकबाट पनि बनाइन्छ। मुकुण्डोहरू साना, ठूला विभिन्न साइजका हुन्छन्।

मुकुण्डो कला नेवार समुदायका चित्रकारहरूको पुख्राैली पेशा हाे तर अचेल अन्य जातीकाले पनि मुकुण्डो तयार पारेर बिक्री गर्ने गरिन्छ । आज यो अमूल्य कला लोपोन्मुख अवस्थामा पुगेको छ। यद्यपि मुकुण्डो बनाएर पुस्तान्तरण गरिरहेकाे छ बडु लामा ।

बडु मुकुण्डो उपहार संस्कृति फस्टाउँदै गएकाे बताउँछन् । उनले परम्परागत मुकुण्डो त बनाउँछन् नै, त्यसबाहेक घरकोठामा सजाउने मुकुण्डो पनि तयार पार्छन् अहिले मुकुण्डाे ‘मायाको चिनो’का रुपमा ब्राण्डिङ भएकाे छ । उनकाे पसलबाट विदेशीले नेपालको कोसेलीका रुपमा मुकुण्डो किनेर लैजान्छन् ।

नेपालीले पनि घर सजाउन र शुभकामना बाँड्न मुकुण्डो प्रयोग गर्न थालेका छन्। सजाउने कुरा दिएमा वर्षौंसम्म रहने कारणले गर्दा पनि विवाह, ब्रतबन्ध, जन्मोत्सव र संस्थाको वार्षिकोत्सवमा मुकुण्डो उपहार दिने चलन बढ्दै गएकाे छ ।