नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडाैं, ५ असार । बुधबार नेप्से परिसूचक सामान्य अङ्कले बढेकाे छ । यस दिन नेप्से परिसूचक २.२७ अंक बढेर २०७८.७६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।
नेप्से परिसूचक भने यस दिन सामान्य अंक बढेर बन्द भएको छ । गत साताको बिहीबारदेखि घट्न थालेको नेप्से यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन फाइनान्स उपसमूहको परिसूचक २.६२ प्रतिशत बढेर २२९८.७४ विन्दुमा पुगेको छ । यस दिन बैंकिङ्ग, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३२ प्रतिशत घटेको छ।
नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ४८ हजार ७०६ पटकको कारोबारमा ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको ७२ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ६५ रुपैयाँ ८० पैसा बढेर ७२४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ९.८८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २० करोड २३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। अन्य स्टकहरुको कारोबार रक मभने १० करोडभन्दा कम रहेको छ।