शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
सुनसरी, १८ असार । शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।
उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको हो । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएको छ ।
उहाँले चार वर्षकै अवधिमा तामाखाम गाउँमै सफल व्यवसायीको परिचय बनाउनुभएको छ ।
शिक्षण पेसाबाट सोचेजस्तो कमाइ नभएपछि बाख्रापालन रोजेको बताउने राईले अहिले आम्दानीका साथै आत्मसन्तुष्टि पनि प्राप्त भइरहेको बताउनुभयो ।
“आफ्नो पेसा व्यवसाय भनेको फरकै हुँदो रहेछ, त्यसैमा कृषि पेसाको आनन्द बेग्लै छ, कसैको करकापमा बस्नु नपर्ने र स्वतन्त्ररुपमा काम गर्न पाइने भएकाले आम्दानी र आत्मसन्तुष्टि दुवै मिल्दो रहेछ”, उहाँले भन्नुभयो,“शिक्षण पेसामा लामो समय काम गर्दा पनि सोचेजस्तो कमाइ भएन । आम्दानी नै नभए पनि आत्मसन्तुष्टि पनि हुने कुरै थिएन ।”
राईको बाख्रा फार्ममा अहिले एक सय २६ बाख्रा, बोका, खसी र पाठापाठी छन् । त्यसमध्ये बोयर, जमुनापारि जातका माउ बाख्रासमेत छन् । उहाँले यहाँ उत्पादन गरेका खसी, बोका, बाख्रा धरान १३ मा रहेको धरान कृषि बजारमा लेगेर बिक्री गरिरहनुभएको छ ।
राई शिक्षण पेसामा रहेका बेला उहाँको परिवारले बाख्रापालन गर्दै आएको थियो । त्यसबेला करिब २० वटा मात्रै बाख्रा थिए । पछि शिक्षण पेसा छाडेर राईले त्यसैलाई व्यावसायिक रुप दिनुभयो । धरान उपमहानगरपालिकाले कृषि अनुदानबाट एउटा बीउ बाख्रा उपलब्ध गराएपछि त्यहीँबाट बाँकी बाख्रा उत्पादन गरेको राईले जानकारी दिनुभयो।
राईले अम्म्रिसो बेचेर पनि राम्रै आम्दानी हुने गरेको सुनाउनुभयो । शिक्षण पेसा छाडेर कुनैबेला राईलाई विदेश जाने सोचसमेत नआएको होइन तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मनसायसहित सुरु गरेको व्यवसायबाट हालसम्म पछुताउनु परेको छैन ।