काठमाडौंको नीति तथा कार्यक्रम र बजेट संशोधनसहित पारित, पदीय मर्यादाको ख्याल गर्न मेयर बालेनलाई सुझाव

काठमाडौं, २५ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेट संशोधनसहित पारित भएको छ । आज बसेको नगरसभाको १५औं अधिवेशनको ५ औं बैठकले बजेट संशोधनसहित पारित गरेको छ । काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले १० असारमा आगामी आवका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । आजकै बैठकले नीति तथा कार्यक्रम पनि पास गरेको छ । आजकै बैठकले नगर सभा बैठकमा पेश भएको लेखा समितिको प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदन पनि पारित भएको छ ।
काठमाडौं महानगरका मेयर बालेन साहले ३२ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । २ असारमा नगरसभामा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची थियो । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले साझा संशोधन प्रस्ताव राख्न खोज्दा मेयर शाह भट्किएपछि स्थगन भएको थियो । आज ती वडाध्यक्षहरुको संशोधन प्रस्तावलाई समेट्दै नीति तथा कार्यक्रम पारित भएको हो ।
२ असारको बैठकमा जस्तै आजको बैठकमा पनि नगर कार्यपालिका सदस्यहरु मेयरको शैलीलगायतका विषयमा खरोरुपमा उत्रिएका थिए । नगर कार्यपालिका सदस्य अनिता कार्की (ढोली) ले महानगरका जनप्रतिनिधिले गर्ने हरेक भ्रमणको लेखाजोखा राख्नुपर्ने भन्दै भ्रमणका लागि आएको कोटा कति हो, को को जान पाउने र को को जान नपाउने भनेर संख्या निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्यो भ्रमणको लागत कति हो भनेर लेखाजोखा गर्न पनि सुझाव दिनुभयो । पछिल्लो समय मेयर बालने साहले विदेश भ्रमणका क्रममा गरेको अनावश्यक खर्चबारे आवाज उठिरहेका बेला कार्कीले यस्तो प्रश्न उठाउनु भएको हो ।
त्यसैगरी वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले मेयरलगायतको सचिवालय सदस्य र उनीहरूले लिइरहेको सेवा सुविधा पारदर्शी हुनुपर्ने आवाज उठाउनु भयो । अहिले मेयर साहले अनावश्यक सचिवालयमा अत्याधिक मान्छे राख्ने र अपारदर्शी ढंगले खर्च गर्ने गरेको आरोप लागिरहेको छ ।
महर्जनले त्यसबारे सजग गराउनुभयो ।
नगरसभा सदस्य शर्मिला परियारले नगरसभा स्थगन र सञ्चालन ‘फेसबुकबाटै गर्ने हो अबदेखि’ भन्दै मेयर साहलाई प्रश्न गर्नुभयो । वडा नम्बर ३ बाट निर्वाचित दलित महिला सदस्य परियारले मेयर साहले सम्मानित नेताहरुलाई विनाप्रमाण सामाजिक सञ्जालबाट गालीगलौज गर्दा महानगरकै गरिमा कमजोर बनेको भन्दै खवरदारी गर्नुभयो ।
‘विनाप्रमाण कसैलाई गालीगलौज गर्नुअघि म कुन हैसियतमा छु भन्ने पनि बुझ्नुपर्छ । प्रमुखज्यू, तपाईंले आफू राम्रो देखिनका लागि अरुलाई नराम्रो देखाउन पर्दैन,’ उहाँले भन्नुभयो, ‘नगरसभाको गरिमा अरुलाई गालीगलौज गरेर, सामाजिक सञ्जालबाट आरोप लगाएर बढ्ने पनि होइन । सम्मानित नेताहरुलाई गाली गरेर तपाईंको हैसियत बढ्दैन ।’ पछिल्लो समय मुख्य गरेर विना आधार र प्रमाण मेयर साहले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न खाले आरोप लगाउँदै आउनु भएको थियो ।