नेप्से २२०० विन्दुमाथि पुगेर बन्द , कारोबार रकम ७ अर्ब माथि
काठमाडाैं, २७ असार । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेर २२०० विन्दुभन्दा माथि पुगेकाे हाे ।
नेप्से परिसूचक करिब १ वर्षपछि २२०० विन्दुभन्दा माथि बन्द भएको हो। बिहीबार नेप्से परिसूचक २९.२१ अंक बढेर २२०४.६१ विन्दुमा पुगेको छ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०७ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३३१ स्टकको ८७ हजार ८६ पटकको कारोबारमा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिनको कारोबार रकम ६ महिना यताकै उच्च हो।
यस दिन बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३८ रुपैयाँ ३० पैसा बढेर ४२१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिटिजन्स युपर ३० म्युचुअल फण्ड र एनआईबिएल स्टेबल फण्डको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंकको करिब १५ करोडको संस्थापक शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे १२ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक करिब साढे २ प्रतिशत बढेको छ ।