नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, कारोबार रकममा ३५ महिनायताकै उछाल

काठमाडाैं, २ असार । बुधबार नेप्सेमा दाेहाेराे अंककाे वृद्धि भएकाे छ । अघिल्लो सोमबार सामान्य करेक्सनपछि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उछाल आएकाे छ। कारोबारमा आएकाे उछाल ३५ महिनायताकै उछाल हाे । यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात आजै नेप्सेमा १२ अर्बबढीको शेयर खरिदबिक्री भएको हो।

अघिल्लो कारोबार दिन ९ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३०६ स्टकको १ लाख ४९ हजार ६८१ पटकको कारोबारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ५४ रुपैयाँ ९० पैसा बढेर ६०३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ९.९० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिंगटी हाइड्रो नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको करिब २३ करोडको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल र हिमाल दोलखा हाइड्रोपावरको कारोबार रकम २० करोड नाघेको छ।

यस दिन पनि १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ५ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।