सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुुझ आयोगले काम सुरु गरिसक्यो : मन्त्री पाण्डे

 

काठमाडौँ, १३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम सुरु गरिसकेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमनगरी आवश्यक विवरण लिएको बताउनुभयो ।

आयोगले ककपीट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) सङ्कलनगरी डाटा विश्लेषणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एनएक्स १३ को प्रावधान तथा गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली– २०७१ अनुरुप जाँचबुझ आयोग गठन गरिएको हो । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समय र शून्य समयमा सांसदहरुले विमान दुर्घटनाको बारेमा प्रश्न गर्नुभएको थियो ।

पर्यटनमन्त्री पाण्डेले विमान दुर्घटनाबारे जाँच गर्न समिति बनिसकेको र सरोकारवाला विभिन्न निकायसँग परामर्श गरिएको भन्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालय प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विमान दुर्घटनाको भोलिपल्टै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छलफल गरिएको बताउनुभयो ।

मन्त्री पाण्डेका अनुसार यमनी नागरिकबाहेक मृतक सबैको शव आफन्तले बुझिसकेका छन् । यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको तथा शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सले बेहोरेको छ ।

पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा परी मृत्युभएका सबैप्रति मन्त्रालय र व्यक्तिगततर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते चालकदलका सदस्य क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

विमान दुर्घटनामा मृत्यु भएकालाई बीमा नीतिअनुसार सरल र सहज रुपमा उपलब्ध गराउन कम्पनीले प्रतिबद्धता जनाएको छ । बीमा नीति अतिरिक्त एयरलाइन्सबाट रु सात लाखको सामाजिक सुरक्षा कोषसमेत रहेको छ ।

हवाई नीति–२०६३ का अनुसार प्रेसराइज वायुयान १५ वर्षभन्दा पुरानो आयात गर्न प्रतिबन्ध लगाइएको अवस्थामा सौर्य एयरलाइन्सको विमान सो अवधिभन्दा मुनिको रहेको कम्पनीले जनाएको छ । नेपालले सन् २०१८ मा यात्रु बीमासम्बन्धी मन्ट्रियल सन्धि अनुमोदन गरिसकेको र उक्त व्यवस्था अन्तर्राष्ट्रिय हवाई यात्रुमा मात्रै लागू हुने भएकाले आन्तरिक उडानका लागि यात्रुको बीमा कम भएकाले आन्तरिक उडानका लागि बीमा विधेयक तर्जुमाको काम अगाडि बढिसकेको पर्यटनमन्त्रीले जानकारी दिनुभयो । हाल आन्तरिकमा यात्रु उडानका लागि रु २० हजार अमेरिकी डलर बीमा व्यवस्था गरिएको छ ।

एयरलाइन्सकातर्फबाट मृतकका परिवारलाई थप सुविधा उपलब्ध गराउन एयरलाइन्सका पदाधिकारीसँग छलफल गरिएको र कम्पनीकातर्फबाट सम्भव भएसम्म योग्यताका आधारमा रोजगारीको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्री पाण्डेले बीमा रकम सहज तवरले यथाशीघ्र उपलब्ध गराउन सौर्य एयरलाइन्सलाई निर्देशन दिइसकिएको बताउनुभयो ।

सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान यही साउन ९ गते स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दुर्घटना भएको थियो । चालकदलसहित विमानमा १९ जना यात्रु सवार थिए ।

दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै एक जना घाइते हुनुभएको छ । विमान दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।