तिव्र उतारचढावकासाथ २७ सय नजिक पुग्याे शेयर बजार, होटल र फाइनान्समा झुम्मिए लगानीकर्ता
काठमाडां, १५ साउन । तिव्र उतारचढावकासाथ शेयर बजार २७ सय नजिक पुगेकाे छ । यस दिन होटल तथा पर्यटन र फाइनान्स उपसमूहमा झुम्मिएका छन् ।
यस दिन बजार खुलेपश्चात २६०९ विन्दुसम्म ओरालो लागेको नेप्से, कारोबारको अन्तिम समयतिर बढेर २७०९ विन्दुसम्म पुगेको थियो। यद्यपि, अन्तिम समयमा भने नेप्से परिसूचक २७०० विन्दुभन्दा तल नै बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ३५.५५ अंक बढेर २६९६.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन साढे १९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको २ लाख ६ हजार ६४३ पटकको कारोबारमा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ४ करोड ३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिनको बजारमा होटल तथा पर्यटन र फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.९९ प्रतिशत बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ५.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको साढे ३७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको करिब साढे ३६ करोडको शेयर किनबेच भएको छ।
यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।