नेप्सेमा उच्च अंककाे गिरावट, पौने २४ अर्बको कारोबार
काठमाडाैं, २२ साउन । साताको दोस्रो कारोबार दिन नेप्सेमा उच्च अंकको करेक्सन भएको छ। यस दिन नेप्से परिसूचक ५.१८ प्रतिशत अर्थात १४५.०५ अंक घटेर २६५१.३२ विन्दुमा झरेको हाे ।
यस दिन सेन्सेटिभ इण्डेक्स २७.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९१ अंक घटेको छ।
मंगलबार नेप्सेमा ३२२ स्टकको २ लाख ७१ हजार ५८७ पटकको कारोबारमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस अघि गत साताको बुधबार नेप्सेको भोल्यूमले नयाँ रेकर्ड बनाएको थियो। सो दिन नेप्सेमा २१ अर्ब ९१ करोडको शेयर कारोबार भएको थियो। यस दिनको भोल्यूमले सो दिनको रेकर्ड तोडेको हो।
नेप्से उच्च अंक घटेपनि यस दिन थ्रिस्टार हाइड्रोपावर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ६० पैसा बढेर ७५४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।
त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल रि इन्स्योरेन्सको ४८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ८ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, यस दिन लगानी र जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी घटेको छ ।