नेप्से परिसूचकमा सामान्य अंकको करेक्सन, काराेबार पनि घट्यो

काठमाडाैं, २९ साउन । मंगलबार नेप्से परिसूचकमा सामान्य अंकको करेक्सन भएको छ। गत साताको बुधबारदेखि निरन्तर उकालो लागिरहेको नेप्सेमा यस दिन करेक्सन भएको हो।

पछिल्ला ४ कारोबार दिनमा नेप्से परिसूचक २८० अंक बढेको छ । सोही मौकामा लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजारमा घटेकाे हो।

मंगलबार नेप्से परिसूचक ८.१८ अंक घटेर २९२३.४६ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २७ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३२ स्टकको २ लाख ४१ हजार ६६५ पटकको कारोबारमा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको ५ करोड २७ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर र शुभम पावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ८१ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ६८ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको करिब साढे ४४ करोडको शेयर किबनेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२५ प्रतिशत घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *