नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं, ९ भदौ । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । पछिल्लो केही सातादेखि निरन्तरजसो उकालो लागिरहेको नेप्सेमा यस दिन उच्च अंकको करेक्सन भएको हो।

आइतबार नेप्से परिसूचक ७९.८८ अंक घटेको छ । गिरावटपछि नेप्से २८९४.५७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १४.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७९ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १९ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३३ स्टकको २ लाख १८ हजार ५७८ पटकको कारोबारमा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँ बराबरको ४ करोड २६ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.८३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८४ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।