नेप्से परिसूचककाे ओरालो यात्राकाे निरन्तरता आजपनि
काठमाडौँ, २४ भदौ । नेप्से परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार ओरालो लागेकाे छ ।
गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो ।
पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ । कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ । आज तीन सय २७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता शेयर एक लाख ११ हजार नौ सय ८६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ४३ करोड ९१ लाख छ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ६७, जीवन बीमा दुई दशमलव ४९, निर्जीवन बीमा दुई दशमलव ४५, लघुवित्त दुई दशमलव ३३, बैंकिङ दुई दशमलव २८ र वित्त समूह दुई दशमलव २७ प्रतिशतले घटेको छ ।
त्यस्तै विकास बैंक एक दशमलव ८७, जलविद्युत् दुई दशमलव ४४, लगानी शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन एक दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव ९४, व्यापार शून्य दशमलव ३५ र अन्य समूह एक दशमलव ८३ प्रतिशतले घटेको छ ।
हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ३७ करोड पाँच लाख ५७ हजार बराबरको कारोबार भएको छ ।