व्यवसायीहरु निर्वाधरुपमा व्यावसायिक काम गर्नुस, सरकारले पर्यटन विकासमा सघाउँछ : प्रधानमन्त्री ओली

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडाैंकाे बूढानीलकण्ठमा निर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले रु दुई अर्ब ५० करोडको लगानीमा निर्मित एक सय दुई शय्यायुक्त होटलको उद्घाटन गर्नुभएको हो । उद्घाटनकाे क्रममा उहाँले सुशासनसहित जनतालाई छिटोछरितो सेवा दिन सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयाे, “व्यवसायीहरु निर्वाधरुपमा व्यावसायिक काम गर्न सक्नुहुन्छ । कामका लागि कहीँकतै नजराना बुझाउनुपर्दैन ।

होटलका माध्यमबाट देश विकासको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले पर्यटकलाई आकर्षित गर्न नेपालमा धेरै सुन्दरस्थलका साथै उपयुक्त वातावरण भएकाले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताउनुभयो ।

सरकारी निकायले गर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने पत्ता लगाउन हामीले प्रविधि बनाइसकेका छौँ ।” प्रधानन्त्री ओलीले भन्नुभयो, “तपाईहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन ।”