२५००काे विन्दुबाट पनि ओर्लियो नेप्से
काठमाडाैं, ८ असाेज । नेप्से परिसूचक २५०० विन्दुभन्दा तल ओर्लिएकाे छ।
पछिल्ला १३ कारोबार दिनमा दुई कारोबार दिनबाहेक अरु ११ कारोबार दिनमा नेप्से घटेपछि २५०० विन्दुभन्दा तल ओर्लिएकाे हाे ।
यस दिन नेप्से परिसूचक ५८.९३ अंक घटेर २४७०.३९ विन्दुमा पुगेकाे छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ९.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२८ अंक घटेको छ।
यस दिन कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। सोमबार ५ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ७७ हजार २६४ पटकको कारोबारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८३ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको हिमालयन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी घटेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १८ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साढे १७ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे १४ करोडभन्दा बढिको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।