महाशिला गाउँपालिकाले गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान दिने

पर्वत, ९ असोज । पर्वतकाे महाशिला गाउँपालिकाले आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा रु. एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्न प्रदान गर्ने भएको छ ।

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो ।

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागु गरेको हो । गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उहाँले बताउनुभयो ।

गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उहाँले बताउनुभयो ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेर गएका छन् ।