नेप्से २७ अंकले बढ्याे, कारोबार रकम ५ अर्ब नाघ्याे
काठमाडाैं, १२ कात्तिक । साेमबार नेप्से परिसूचक बढेर बन्द भएको छ। निरन्तर तीन कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
यसदिन नेप्से परिसूचक २७.४१ अंक बढेर २६४५.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ५८ हजार ५५२ पटकको कारोबारमा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जानकी फाइनान्स र दोल्ती पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन रिभर फल्स पावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको पिपुल्स हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.०२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत बढेको छ।