दाेस्राे दिनपनि नेप्से बढेर बन्द, ६ कम्पनीको शेयरमा लाग्याे सकारात्मक सर्किट
काठमाडाैं, २६ कात्तिक । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २२.१४ अंक बढेर २७६०.२१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ९ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ४५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, श्रृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त, गुडविल फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन इष्टर्न हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको कारोबार रकम २५ करोड नाघेको छ। १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।
