साताकाे अन्तिम दिन सामान्य अंक घट्यो नेप्से

काठमाडाैं, १३ मङ्सिर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ। अघिल्लो तीन कारोबार दिनदेखि बढीरहेको नेप्से, यस दिन भने सामान्य घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ८.३० अंक घटेर २७४८.०५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ९ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन पाँचथर पावर कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन एक्सेल डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३१ करोड ८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहका परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *