नेप्से २४.९७ अङ्कले घट्यो, कारोबार रकम भने बढ्याे

काठमाडौँ, १९ मङ्सिर । नेप्से परिसूचक आज ओरालो लागेको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ को बिन्दुमा कायम भएको हो ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ८ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ९६ हजार ६७७ पटकको कारोबारमा ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरका २ करोड ३ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन रिभर फल्स पावर, इंगवा हाइड्रोपावर र स्वाभिमा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २९ करोडको शेयर खरिदबिक्री भएको छ भने आँखुखोला जलविद्युतको करिब २७ करोडको शेयर किनबेच भएको छ।