गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका कर्मचारी झ्यालमा बाँधिएको अवस्थामा मृत फेला

जनकपुरधाम, २३ मङ्सिर । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको झ्यालमा बाँधिएको अवस्थामा अस्पतालका एक कर्मचारी मृत फेला परेका छन् ।
राजविराजकै गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४०/४२ वर्षीय सुधीर कुमार झा झ्यालमा बाँधिएको अवस्थामा मृत भेटिएका हुन् ।
झा छिन्नमस्ता गाउँपालिका ५ गोविन्दपुरका हुन् । उनी कार्यरत अस्पताल र घटनास्थल करिब एक किलोमिटरकाे दुरीमा छ ।
झ्यालमा बाँधिएको झाको दुवै खुट्टा भुईँमा टेकिएकाले घटना शङ्कास्पद देखिएको प्रहरीकाे भनाइ छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले मृतक झा झुन्डिएको अवस्थामा मृत फेला परेको र घटना शङ्कास्पद रहेकोले थप अनुसन्धान भइरहेको बताउनुभयाे ।