नेप्से परिसूचक ४५.९३ अंक घटेर २७०० विन्दुमुनि, कारोबार पनि घट्यो

काठमाडाैं। २३ मङ्सिर । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्से आज पनि घटेर बन्द भएकाे हा ।

यस दिन नेप्से २७०० विन्दुमुनि बन्द भएको हो। आइतबार नेप्से परिसूचक ४५.९३ अंक घटेर २६८९.०० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२१ स्टकको ८१ हजार ४०४ पटकको कारोबारमा ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँबराबरको १ करोड ७३ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४२ रुपैयाँ ८० पैसा बढेर ४७१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन दोल्ती पावर कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने १० प्रतिशत कुमारी बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६४ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, यस दिन नेपाल फाइनान्स र रिभर फल्स पावरको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने खानीखोला हाइड्रोपावरको करिब १४ करोडको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशत घटेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *