नेप्से सामान्य अंक बढ्याे
काठमाडाैं, २ पुस । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक २.९५ अंक बढेर २६३३.८७ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ५३ हजार ९५७ पटकको कारोबारमा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँबराबरको ८९ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २५० रुपैयाँ बढेर २७५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्सको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने दोल्ती पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढेको छ।
यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३३० रुपैयाँ घटेर २९७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ।
यस दिन नेपाल फाइनान्सको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने रिभर फल्स पावरको करिब साढे १२ करोडको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।