नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
काठमाडाैं, १७ पुस । नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
बुधबार नेप्से परिसूचक ५.१० अंक बढेर २५८१.६० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.१६ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ४३ हजार ७२९ पटकको कारोबारमा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँबराबरको ९४ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५५ रुपैयाँ ३० पैसा बढेर ६०८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।
त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्त र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ३२२ रुपैयाँ ८० पैसा घटेर २ हजार ९०५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ८२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८७ प्रतिशत बढेको छ।
